रुपन्देही खबर , १०५ पटक हेरिएको
भैरहवा,वैशाख २३
भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनो म्यानेजरसहित १९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको उक्त क्यासिनोमा मंगलबार राति करिब ८ बजे आकस्मिक चेकजाँच तथा अनुगमन गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जुवा खेलाउने कार्यमा संलग्न भई पक्राउ पर्नेहरूमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डी बस्ने वर्ष २२ का अभय कुमार गुप्ता, सिद्धार्थनगर–२ बस्ने वर्ष २६ का सुशान्त अधिकारी, ओमसतिया गाउँपालिका–२ बस्ने वर्ष २९ का निक्षेद नेपाल र सिद्धार्थनगर–१३ बस्ने वर्ष २८ का संजय शाक्य रहेका छन्।
यस्तै, जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरूमा जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका–१३ बस्ने वर्ष ५० का जिवन थापा, रुपन्देही देवदह नगरपालिका–५ खैरनी बस्ने वर्ष ३२ का अकाश गुप्ता, सोही स्थान बस्ने वर्ष ३३ की सुनारी मगर, जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका–६ बस्ने वर्ष ४२ का नेत्र पोख्रेल, रुपन्देही कोटहीमाई गाउँपालिका–३ बस्ने वर्ष २९ का अब्दुल कलाम जोलहा, सिद्धार्थनगर–९ बस्ने वर्ष ५८ का अभिषेक शर्मा, तिलोत्तमा नगरपालिका–१५ बस्ने वर्ष ४४ का शिव पाण्डे, ललितपुर महानगरपालिका–५ बस्ने वर्ष ५० का बाबुराजा महर्जन, सैनामैना नगरपालिका–४ बस्ने वर्ष ३४ का रोहन बि.क. (तिलबहादुर बि.क.), पर्सा वीरगञ्ज महानगरपालिका–७ बस्ने वर्ष ४४ का जंग कुमार अग्रवाल, मायादेवी गाउँपालिका–५ बस्ने वर्ष २८ का निरज गुप्ता, सोही स्थान बस्ने वर्ष २१ का सुरज जयसवाल, सोही स्थान बस्ने वर्ष १८ का रमेश यादव, तिलोत्तमा नगरपालिका–६ बस्ने वर्ष ३८ का निर्मल बस्याल र सैनामैना नगरपालिका–४ बस्ने वर्ष ३० का भरत थापा रहेका छन्।
घटनास्थलबाट प्रहरीले नगद ९५ हजार ५०० रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल सेट तथा २०० थान क्यासिनो कोइन बरामद गरेको जनाएको छ।
केही महिनाअघि मात्र सञ्चालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकलाई सहज प्रवेश दिइँदै जुवा खेल्न दिइएको गुनासो बढ्दै गएको थियो। सोही सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २०२६-०५-०६ , समय : ०५:२४:३२ , २ घन्टा अगाडि