उर्मिला यादव यात्री , ६२ पटक हेरिएको
भैरहवा, जेठ १७
नेपाल क्रिकेट संघ (क्यान) द्वारा सञ्चालित आईसीसी लेभल कोच परीक्षामा नाम निकाल्न सफल भएका भैरहवा गाउँ निवासी दीपेन लामगादेलाई भैरहवा गाउँ टोल सुधार समिति, सिद्धार्थनगर–७ ले सम्मान गरेको छ ।

भैरहवा गाउँ टोल सुधार समितिका अध्यक्ष ठाकुर अधिकारीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा शनिबार आयोजित कार्यक्रममा लामगादेलाई सम्मान गरिएको हो । क्रिकेट प्रशिक्षकको रुपमा प्राप्त गरेको सफलताले स्थानीय स्तरमा खुसी र उत्साह थपिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष दामोदर शर्मा घिमिरेले खेलकुद क्षेत्रको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै दीपेन लामगादेको उपलब्धि सम्पूर्ण भैरहवाका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो । उहाँले युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता सफलताले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, भैरहवा गाउँ टोल सुधार समितिका अध्यक्ष ठाकुर अधिकारीले लामगादेले क्रिकेट क्षेत्रमा हासिल गरेको उपलब्धिले टोल तथा नगरकै पहिचान बढाएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले युवाहरूलाई आफ्नो प्रतिभा पहिचान गरी निरन्तर मेहनत गर्न आग्रह गर्दै सकारात्मक सोचका साथ खेलप्रति आकर्षित हुनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष अधिकारीले क्रिकेट लगायतका खेलमा बालबालिकालाई सहभागी गराउन अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने बताउँदै आफ्ना छोराछोरीलाई खेलकुदतर्फ प्रेरित गर्न आग्रह गर्नुभयो । खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा सहयोग पुग्ने भएकाले स्थानीय तहबाट खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा समितिका सल्लाहकार डोलराज भण्डारीले खेलकुदमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउँदै स्थानीय प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी, टोल सुधार समितिका सह–सचिव मनोज ढाडीले दीपेन लामगादेको सफलता युवा पुस्ताका लागि प्रेरणादायी भएको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय स्तरमा आयोजना हुने वडा तथा नगरस्तरीय खेलकुद प्रतियोगितामा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।


सम्मानित व्यक्तित्व दीपेन लामगादेले आफूलाई सम्मान गर्ने भैरहवा गाउँ टोल सुधार समिति तथा उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै क्रिकेट क्षेत्रको विकास तथा प्रशिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका सचिव सुजाता क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा भैरहवा गाउँ टोल सुधार समितिका पदाधिकारी, स्थानीयवासी, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०५-३१ , समय : ०९:०७:२६ , १ घन्टा अगाडि