माग पुरा नभएपछि प्राधिकरण मिटर रिडर संघर्ष समिति अन्दोलनमा

रुपन्देही खबर , २०४  पटक हेरिएको

काठमाडौं, भदौ २३

नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडरलाई ज्यालादारी कर्मचारी बनाउने माग पूरा नभएपछि प्राधिकरण मिटर रिडर संघर्ष समितिले आन्दोलन सुरु गरेको छ । प्राधिकरणको प्रधान कार्यालयमा आज (भदौ २३ गते) धर्ना तथा नाराबाजी गर्दै विरोध तथा आमरण अनसन कार्यक्रम सुरु गरेका हुन् ।

समितिले मिटर रिडरलाई गोटा ठेक्काका मान्छे हुन भन्दै अपमानपूर्ण व्यवहार भएको भन्दै बारम्बार केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि माग सम्बोधन नभएपछि आन्दोलन सुरु गरेको जनाइएको छ ।

मिटर रिडरहरूलाई प्राधिकरणको ज्यालादारी सरह ६२३ जनालाई एकै प्रकारको ज्यालादारी कर्मचारी बनाउन माग गर्दै आएका थिए । समितिले प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवा सुविधाबाट बञ्चित गरेको आरोप लगाउँदै आन्दोलन गर्ने चेतावनी दिँदै आएपनि वास्ता नगरेपछि बिहीबारदेखि आन्दोलन सुरु गरेका छन् ।

लामो समयदेखि कार्यरत रहेर प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रियरूपमा सहभागी भए पनि मिटर रिडरलाई वेवास्ता गर्दै आएको समितिको आरोप छ । विगत १५ वर्षदेखि प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरूपमा पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : १७:२५:२४ , २ वर्ष अगाडि