रुपन्देही खबर , ६४ पटक हेरिएको
लुम्बिनी,जेठ २९
महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जेठ २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको शिविरमा ३० देखि ४९ वर्ष उमेर समूहका ६२४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा १३ जना महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जोखिम देखिएको थियो । जोखिम देखिएका महिलामध्ये १० जनालाई समयमै पहिचान गरी विद्युतीय उपचार विधिमार्फत आवश्यक उपचार प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक भए पनि प्रारम्भिक चरणमै पहिचान र उपचार गर्न सके प्रभावकारी नियन्त्रण गर्न सकिने भएकाले यस्ता शिविरको महत्व बढ्दै गएको छ ।
नगरपालिकाले यस्ता जनस्वास्थ्य कार्यक्रममार्फत महिलाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै रोगको समयमै पहिचान र उपचारको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ
प्रकाशित मिति: २०२६-०६-१२ , समय : १५:२६:०५ , २ घन्टा अगाडि