लुम्बिनी साँस्कृतिक नगरपालिकामा १ अर्ब ७५ करोड ७८ लाख बढीको बजेट प्रस्तुत

शिक्षा, पूर्वाधार, पर्यटन र सामाजिक विकासलाई प्राथमिकता

रुपन्देही खबर , ५६  पटक हेरिएको

लुम्बिनी, असार १०

लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रस्तावित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औं बजेट नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक  कल्पना हरिजनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरसभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
संयोजक हरिजनले नेपालको संविधान, संघीय नीति, दिगो विकासका लक्ष्य, स्थानीय आवश्यकता तथा नगरको प्राथमिकतालाई आधार बनाएर बजेट तयार गरिएको बताउनुभयो ।

प्रस्तावित बजेट अनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान तथा विभिन्न विकास साझेदार संस्थाबाट प्राप्त हुने रकमसहित नगरपालिकाको कुल आय १ अर्ब ७५ करोड ७८ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४ करोड ६० लाख, नगर विकास कोषबाट १३ करोड २० लाख, बैंक मौज्दातबाट ३ करोड, संघीय तथा प्रदेश समपूरक अनुदानसहित अन्य शीर्षकबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ ।

बजेटमा नगरपालिकाको प्रशासनिक भवन, बसपार्क तथा पहुँच मार्ग निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । एसियाली विकास बैंक, नगर विकास कोष र नगरपालिकाको साझेदारीमा सञ्चालन हुने उक्त योजनाका लागि ७३ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै मोग्लाहा–मोहसड हुँदै सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क जाने सडक निर्माणका लागि २ करोड ८६ लाख, वृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रमका लागि ९ करोड रुपैयाँ छुट्याइएको छ ।

वडा नं. ६ स्थित लुम्बिनी रोड–सुजन्डिहवा हुँदै मोग्लाहा जोड्ने तथा कपिलवस्तु रोड हुँदै नगर अस्पताल जाने सडक निर्माणका लागि १ करोड ४० लाख र हुलाकी सडकदेखि अमारी शिवलवा जाने सडक कालोपत्रेका लागि २ करोड ४० लाख रुपैयाँ बजेट राखिएको छ ।
सामाजिक विकासतर्फ सु–कन्या बीमा धन योजनाका लागि ८० लाख, मर्मत सम्भार कोषका लागि १५ लाख र मेयर ब्लड कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै मधुवनी माध्यमिक विद्यालय वडा नं. १० मा भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

नगरसभामा गाउँ सभा सदस्य तथा नगर प्रवक्ता इनामुल्लाह फकिरले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा “गुणस्तरीय र अनिवार्य शिक्षा, समृद्ध लुम्बिनी हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै शिक्षा क्षेत्र सुधारलाई विशेष प्राथमिकता दिइएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालय सुधार मार्गचित्रलाई मुख्य आधार बनाउँदै विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्ष सुधार गर्ने नीति लिएको जनाएको छ ।

नीति कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने अभियान, सामुदायिक, मदरसा तथा संस्थागत विद्यालयको नियमन, प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता लगायतका कार्यक्रम समेटिएका छन् ।

त्यसैगरी “हाम्रो विद्यालय, राम्रो विद्यालय” कार्यक्रममार्फत विद्यालयको पूर्वाधार सुधार, विज्ञान, अंग्रेजी र गणित विषयमा सिकाइ उपलब्धि बढाउन उपचारात्मक कक्षा सञ्चालन, छात्रवृत्ति व्यवस्थापनमा पारदर्शिता तथा स्थानीय पाठ्यक्रम निर्माण गर्ने नीति अघि सारिएको छ ।

नगरपालिकाले सामुदायिक सिकाइ केन्द्रलाई सीप तथा उद्यमशीलता विकास केन्द्रका रूपमा विकास गर्ने, स्थानीय संस्कृति, पर्यटन, भाषा र सम्पदालाई समेटेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र विश्व सम्पदा क्षेत्र लुम्बिनीको समग्र विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०६-२४ , समय : १३:२९:५८ , १ घन्टा अगाडि