प्रतापपुर स्वास्थ्य संस्था पहिलो र जगन्नाथपुर दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषित

श्याम बुचा , ३०  पटक हेरिएको

सुस्ता, असार २१

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेका दुई स्वास्थ्य संस्थालाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ। स्थानीय तहमा स्वास्थ्य तथा पोषणको अवस्था सुधार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत प्रतापपुर स्वास्थ्य संस्था र जगन्नाथपुर आधारभूत अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्थाको मान्यता प्रदान गरिएको हो।

गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा यी दुवै संस्थालाई औपचारिक रूपमा घोषणा गरिएको थियो। घोषणा गरिएका संस्थामध्ये प्रतापपुर स्वास्थ्य संस्था गाउँपालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था बनेको छ भने जगन्नाथपुर आधारभूत अस्पताल दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था बन्न सफल भएको छ।

नेपाल सरकारले निर्धारण गरेका पोषणसम्बन्धी विभिन्न सूचक र मापदण्ड पूरा गरेपछि यी संस्थालाई उक्त मान्यता दिइएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य तथा पोषण प्रणालीलाई सुदृढ बनाउन आवश्यक सेवा प्रवाह, नियमित अनुगमन र समुदायमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गरिएका कारण संस्थाहरूले मापदण्ड पूरा गर्न सफल भएका हुन्।

पोषणमैत्री घोषणा हुनका लागि गर्भवती तथा सुत्केरी महिलाको नियमित स्वास्थ्य जाँच र पोषण परामर्श, बालबालिकाको तौल तथा उचाइ मापनसहित वृद्धि अनुगमन, शीघ्र कुपोषणको पहिचान र उपचार, स्तनपान प्रवर्द्धन, पूरक आहारसम्बन्धी परामर्श तथा खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने व्यवस्था छ। त्यसैगरी भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि वितरणलाई समेत प्रभावकारी रूपमा सञ्चालन गरिएको आधारमा संस्थाहरू मूल्यांकनमा सफल भएका थिए।

कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रतापपुर स्वास्थ्य संस्थाले पहिलो पोषणमैत्री संस्था बनेर अन्य स्वास्थ्य संस्थाका लागि उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ । उहाले जगन्नाथपुर आधारभूत अस्पतालले निरन्तर प्रयासमार्फत दोस्रो स्थान हासिल गर्नु पनि गाउँपालिकाका लागि गौरवको विषय भएको उल्लेख गर्नु भयो ।। अध्यक्ष यादवले यस उपलब्धिले पालिकाभित्र रहेका अन्य स्वास्थ्य संस्थालाई समेत पोषणमैत्री बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्तोषकुमार मुराउका अनुसार यो घोषणा केवल औपचारिक मान्यता मात्र नभई पालिकालाई कुपोषणमुक्त बनाउने दीर्घकालीन अभियानको महत्वपूर्ण आधार हो। उहाले आगामी दिनमा अन्य वडामा रहेका स्वास्थ्य संस्थालाई पनि क्रमशः पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्दै लैजाने योजना रहेको जानकारी दिनु भयो ।

पोषणमैत्री घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा विभिन्न गैरसरकारी संस्थाको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। गाउँपालिकाले उनीहरूको अथक मेहनत र सहकार्यका कारण प्रतापपुरका दुई स्वास्थ्य संस्था पोषणमैत्री घोषणा हुन सफल भएको उल्लेख गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको थियो।

स्थानीय तहमा मातृ तथा शिशु स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण र पोषणसम्बन्धी सेवामा पहुँच विस्तार गर्ने अभियानलाई यो उपलब्धिले थप बल पुगेको प्रतापपुर गाउँपालिकाको भनाइ छ।

प्रकाशित मिति: २०२६-०७-०५ , समय : ०९:५६:२२ , २ घन्टा अगाडि