फरार रहेका ३ प्रतिवादी रुपन्देहीबाट पक्राउ, अदालतमा पेश

रुपन्देही खबर , ४९  पटक हेरिएको

भैरहवा, असार २६

रुपन्देही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले फैसला कार्यान्वयन अभियानअन्तर्गत बुधबार ९असार २४० जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सम्मानित रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसला बमोजिम कैद तथा जरिवाना सजाय सुनाइए पनि हालसम्म फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी रुपन्देही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा रुपन्देहीको गैडहवा गाउँपालिका–६ निवासी विशाल यादव रहेका छन्। उनी लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई ३ महिना १ दिन कैद सजाय तोकिएका व्यक्ति हुन्।

यस्तै, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ निवासी कमरुद्दिन मुसलमान कुटपिट, गाली तथा बेइज्जती मुद्दामा अदालतबाट ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका प्रतिवादी हुन्। त्यसैगरी, रुपन्देहीको मायादेवी गाउँपालिका–४ झुलनीपुर निवासी अशोक कुमार कलवार चेक अनादर मुद्दामा अदालतबाट ५ सय रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न र फरार प्रतिवादीबारे सूचना भए प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग पनि आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-०७-१० , समय : २२:३६:१८ , १ घन्टा अगाडि