रुपन्देही खबर , ४ पटक हेरिएको
नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सीधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो ।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सीधै ग्लोबल क्वालिफायरमा खेल्ने पाउनेछन् । स्कटल्यान्डले भने २०२६ को प्रदर्शनका आधारमा सीधै ‘युरोप क्षेत्रीय छनोट’ को फाइनलमा स्थान बनाउनेछ ।
ग्लोबल क्वालिफायरका बाँकी ८ ठाउँमा अफ्रिका, एशिया र युरोपबाट २–२ टोली तथा अमेरिका र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट १–१ टोली छनोट हुनेछन् । ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य ३ उत्कृष्ट टोली गरी ८ टोली सन् २०२८ को विश्वकपमा छनोट हुनेछन् ।
आईसीसीको नयाँ ढाँचाअनुसार अब टी–२० विश्वकपको समूह चरणमा २० टोलीलाई चार वटा समूहकाे सट्टा पाँच वटामा विभाजन गरिनेछ । हरेक समूहमा ४–४ टोली हुनेछन् ।
यस्तै पहिलेको ‘सुपर एट’ को सट्टा अब ‘सुपर टेन’ हुनेछ । यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुई वटा समूहमा बाँडिनेछ ।
‘सुपर टेन’ बाट दुवै समूहका शीर्ष टोली सीधै सेमिफाइनलमा पुग्नेछन् । यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमिफाइनलमा पुग्न एक–अर्कासँग ‘एलिमिनेटर’ खेल्नुपर्नेछ ।
यस्तै १४ टोली सहभागी हुने एकदिवसीय विश्वकप अब तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा पुछारका तीन टोली (१२औँ, १३औँ र १४औँ स्थान) बीच ‘सुपर सिरिज’ हुनेछ । यसको विजेता अर्काे चरणमा प्रवेश गर्नेछ ।
दोस्रो चरणमा १२ टोलीलाई दुई वटा समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष तीन टोली र समग्रमा अर्काे एक उत्कृष्ट टोली गरी सात वटा टोली अर्काे चरणमा पुग्नेछन् । ‘सुपर सेभेन’ मा सातै टोलीले एकअर्कासँग खेल्नेछन् । यस चरणको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
यसअघि एकदिवसीय विश्वकपमा १४ टोलीलाई दुई वटा समूहमा विभाजन गरिन्थ्याे । यसबाट शीर्ष तीन टाेली ‘सुपर सिक्स’ मा पुग्ने गर्दथे । ‘सुपर सिक्स’ का दुई समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्थे ।
प्रकाशित मिति: २०२६-०७-१५ , समय : २२:३४:०१ , ५९ मिनेटutes अगाडि