लालु चौधरी , ५५ पटक हेरिएको
कपिलवस्तु ,साउन ८
सामुदायिक विद्यालयका नवप्रवेशी शिक्षकहरूले सरुवासम्बन्धी तीन वर्षे प्रावधानप्रति असन्तुष्टि जनाउँदै सरकारसँग तत्काल पुनरावलोकनको माग गरेका छन्। नवप्रवेशी शिक्षकहरूको भनाइअनुसार, यसअघि एक वर्ष सेवा पूरा गरेपछि सरुवा हुन सकिने व्यवस्था रहेकोमा हाल तीन वर्षसम्म सरुवा हुन नपाउने प्रावधान लागू गरिएकाले उनीहरू समस्यामा परेका छन्।
साथै, सरुवामा अंक, तालिम, ज्येष्ठता तथा अन्य मापदण्ड थपिँदा पायक पर्ने स्थानमा सरुवा हुन अझ कठिन भएको उनीहरूको गुनासो छ।
शिक्षकहरूले परिवार, स्वास्थ्य तथा सामाजिक जिम्मेवारीलाई समेत ध्यानमा राखी सरुवा नीति मानवीय र व्यवहारिक बनाउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार धेरै शिक्षक बिरामी अभिभावक, साना छोराछोरी तथा अन्य पारिवारिक जिम्मेवारीका कारण लामो समयसम्म परिवारबाट टाढा बस्न बाध्य भएका छन्।
उनीहरूले शिक्षक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी सेवामा प्रवेश गरेका शिक्षकलाई आफ्नै परिवारसँग बस्न पाउने अवसरबाट वञ्चित गर्नु न्यायोचित नभएको बताएका छन्।
सरुवा व्यवस्थामा सुधारको माग गर्दै नवप्रवेशी शिक्षकहरूले शान्तिपूर्ण र लोकतान्त्रिक आन्दोलनको तयारी गरिरहेको जनाएका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।
शिक्षकहरूको मुख्य माग भनेको कम्तीमा एक वर्ष सेवा पूरा गरेपछि कानुनी प्रक्रिया अनुसार सरुवा हुन पाउने व्यवस्था पुनः लागू गर्नु, सरुवा प्रक्रियालाई सहज, पारदर्शी र मानवीय बनाउनु तथा नीति निर्माणमा शिक्षकका वास्तविक समस्यालाई सम्बोधन गर्नु रहेको छ।
शिक्षकहरूले सरकार र शिक्षा मन्त्रालयलाई आफ्ना मागप्रति गम्भीर बन्न आग्रह गर्दै विद्यमान सरुवा व्यवस्थाको पुनरावलोकन गरी व्यवहारिक र न्यायोचित नीति ल्याउन माग गरेका छन्। उनीहरूका अनुसार माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइनेछ।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : ०८:०९:१७ , ५४ मिनेटutes अगाडि