रुपन्देही खबर , ३४ पटक हेरिएको
काठमाडौँ,साउन १२
स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र कुटपिटका घटनाहरूको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिअनुसार गत साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पताल तोडफोडका दोषीहरूलाई कारबाहीको माग गर्दै यो कदम चालिएको हो।
संघले जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखद्वारा चिकित्सकहरूमाथि गरिएको गालीगलौज र दुर्व्यवहारको घोर भत्सर्ना गरेको छ। घटनामा टाउकोमा गम्भीर चोट लागेका डा. प्रमोद रामसहित घाइते चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न संघले जोडदार माग गरेको छ।
मंगलबार बस्ने सर्वपक्षीय भेलापछि आन्दोलनका थप कार्यक्रम तय गरिने जनाउँदै संघले आफ्ना मागमा साथ दिन नागरिक, बुद्धिजीवी र पत्रकारहरूलाई आग्रह गरेको छ। साथै, सेवा बन्दका कारण बिरामी तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै संघले यसको सम्पूर्ण जिम्मेवार नेपाल सरकार नै रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०२६-०७-२८ , समय : १३:२१:०० , १ घन्टा अगाडि