रुपन्देही खबर , ३० पटक हेरिएको
तस्वीर : सामाजिक सञ्जाल
सुनसरी,
सुनसरीको देवानगन्जमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति फेरि कर्फ्यु विस्तार गरी १० पालिकामा लागू गरेको हो ।
प्रशासनले गएराति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका– १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका– १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लगाएको हो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले जानकारी दिनुभएको छ । यसअघि सोमबार बिहानदेखि लगाइएको कर्फ्यु केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो । तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
गए रातिदेखि फेरि तेस्रो पटक प्रशासनले कर्फ्यु थप विस्तार गरेको हो । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरेका छन् ।

प्रकाशित मिति: २०२६-०७-२९ , समय : १०:२६:४२ , १ घन्टा अगाडि