रुपन्देही खबर , ५१ पटक हेरिएको
भैरहवा, साउन १५
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित एक होटलबाट अवैध रूपमा Voice Over Internet Protocol (VOIP) Call बाइपास गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामो समयदेखि निगरानीमा राखिएको बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्ट मा साउन १३ गते बिहान करिब १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।
छापाका क्रममा होटलको दोस्रो तलामा कोठा भाडामा लिएर बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिका–४ निवासी ६२ वर्षीय छिरिङ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कोठाको खानतलासी गर्दा VOIP कल बाइपास गर्न प्रयोग हुने दुई थान सिम जडित डिभाइस, दुई वटा राउटर, तीन वटा मोबाइल, इन्भर्टर, १२ भोल्टको ब्याट्री, ५६ वटा भारतीय सिमकार्ड, तीन वटा चिनियाँ सिमकार्ड, एक वटा नेपाल टेलिकमको सिम, ३८ वटा एनसेल सिमको खोल, तीन वटा RJ-45 केबल लगायतका उपकरण बरामद गरिएको छ।
यस्तै, नेपाली एक हजार दरका ११ वटा नोट, भारतीय ५०० दरका १४ वटा र १०० दरका ९ वटा नोट, बागमती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन परिचयपत्र तथा नेपाली सवारी चालक अनुमति पत्र समेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरुङविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत VOIP Call बाइपास सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-३१ , समय : ०९:४८:०७ , १ घन्टा अगाडि