अटिजमसम्बन्धी सचेतना बढाउँदै हेभेन्ली गार्डेन

अटिजम भएका बालबालिकालाई समयमै पहिचान गरी आवश्यक सहयोग गर्न आग्रह

रुपन्देही खबर , ३२  पटक हेरिएको

भैरहवा, भदौ १

रुपन्देहीको भैरहवामा अटिजम भएका बालबालिकाको समयमै पहिचान, उचित मार्गदर्शन, पारिवारिक स्वीकार्यता तथा समावेशी वातावरण निर्माणका लागि सचेतना अभिवृद्धि गर्न अटिजमसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेभन्ली गार्डेन किड्स क्याम्पसको आयोजनामा आइतबार भएको कार्यक्रममा अटिजमलाई केवल समस्याका रूपमा नहेरी बालबालिकामा रहेका क्षमता पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा अटिजम भएका बालबालिकाको विकासका लागि समयमै अवस्था पहिचान, आवश्यक परामर्श, नियमित मार्गदर्शन तथा पारिवारिक सहयोग महत्वपूर्ण हुने वक्ताहरूले बताएका थिए । अभिभावक, विद्यालय र समुदायमा अटिजमसम्बन्धी सही जानकारी र सकारात्मक बुझाइको विकास गर्न सके बालबालिकाको सिकाइ, व्यवहार तथा सामाजिक विकासमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा डा. उत्सव कार्की र समिद कतिला श्रेष्ठले अटिजम भएका बालबालिकालाई समयमै पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सहयोग र वातावरण उपलब्ध गराउनुपर्ने बताउनुभयो । बालबालिकामा देखिने फरक व्यवहार वा विकासको अवस्थालाई बेवास्ता गर्नुभन्दा त्यसको समयमै पहिचान गरी आवश्यक सहयोगका लागि सम्बन्धित विज्ञ तथा संस्थासँग परामर्श गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले समाजप्रतिको दायित्वलाई आत्मसात गर्दै हेभन्ली गार्डेन किड्स क्याम्पसले सचेतना कार्यक्रम आयोजना गरेकोमा आयोजक टोलीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्ना बालबालिकाको अवस्था अभिभावकले स्वीकार गरी उनीहरूलाई आवश्यक हेरचाह र सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो ।

उपप्रमुख अधिकारीले अटिजम तथा विशेष आवश्यकता भएका बालबालिकाको विकास र सहयोगका लागि स्थानीय सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो । यस्ता बालबालिकालाई परिवार, विद्यालय र समुदायबाट सकारात्मक व्यवहार तथा आवश्यक सहयोग प्राप्त हुनुपर्ने उहाँको भनाइ थियो ।

हेभन्ली गार्डेन किड्स क्याम्पसकी प्रिन्सिपल रचना क्षेत्रीले अटिजम तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि सरकारले अघि सारेको सामान्य समावेशी शिक्षा नीति मात्र पर्याप्त नभएको बताउनुभयो । विद्यालय र परिवारले प्रत्येक बालबालिकाको व्यक्तिगत आवश्यकता, क्षमता र सिकाइको गतिलाई बुझेर थप सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

शिक्षा क्षेत्रमा २० देखि २५ वर्ष र विद्यालय सञ्चालनमा १९ वर्षभन्दा बढीको अनुभव रहेको बताउँदै क्षेत्रीले विशेष आवश्यकता भएका बालबालिकाका अभिभावकमा अझै पनि पर्याप्त सचेतना र स्वीकार्यता विकास हुन नसकेको उल्लेख गर्नुभयो । कतिपय अभिभावकले आफ्ना बालबालिकामा देखिएको फरकपन स्वीकार गर्न कठिन मान्ने गरेको उहाँले बताउनुभयो ।

क्षेत्रीका अनुसार हेभन्ली गार्डेनमा एक जना बालबालिकाबाट सुरु भएको विशेष सहयोगको अभियानमा अहिले २५ देखि ३० जना बालबालिका जोडिएका छन् । तीमध्ये धेरै बालबालिकामा सुधार आएपछि मूलधारका विद्यालयमा अध्ययन गर्नसमेत सफल भएका छन् । उहाँले १५ वर्षमुनिका बालबालिकामा देखिएका अवस्थालाई समयमै पहिचान गरी आवश्यक मार्गदर्शन र तालिम दिन सके सुधारको सम्भावना उच्च हुने बताउनुभयो ।

 

कार्यक्रममा अभिभावक किशोर पंगेनीले आफ्ना दुई वर्षीय छोरामा अटिजमका लक्षण देखिएपछि नजिकैको मन्टेश्रीमा भर्ना गरे पनि दुई वर्षसम्म अपेक्षित विकास नदेखिएपछि आफू चिन्तित भएको अनुभव सुनाउनुभयो । पछि हेभन्ली गार्डेन किड्स क्याम्पसमा परामर्श लिएर बालकलाई भर्ना गरेपछि उल्लेख्य सकारात्मक परिवर्तन देखिएको उहाँले बताउनुभयो ।

पंगेनीले अटिजम भएका बालबालिकालाई अन्य बालबालिकासँग तुलना नगरी धैर्य र फरक दृष्टिकोणका साथ अघि बढाउन अभिभावकलाई आग्रह गर्नुभयो । आफ्ना छोराको अवस्थालाई दुःखका रूपमा नभई जीवनको एउटा अवसरका रूपमा स्वीकार गरेको बताउँदै उहाँले बालकको यात्रामा जीवनभर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयले अटिजम तथा अपांगता भएका व्यक्तिसम्बन्धी स्थानीय तथ्यांक, सेवा र पहुँच विस्तारमा समेत सहकार्य गर्दै समुदायस्तरमा सचेतना बढाउने प्रयास भइरहेको जनाएको छ । कार्यक्रममार्फत अटिजम भएका बालबालिकाको समयमै पहिचान, आवश्यक सहयोग, पारिवारिक स्वीकार्यता र सामाजिक समावेशीकरणका विषयमा अभिभावक तथा समुदायमा सकारात्मक बुझाइ विकास गर्ने उद्देश्य राखिएको थियो ।

अटिजम भएका बालबालिकाको विकासमा परिवार, विद्यालय, स्वास्थ्य तथा सामाजिक क्षेत्रको समन्वय आवश्यक रहेकाले समयमै पहिचान र निरन्तर सहयोगलाई प्राथमिकता दिनुपर्ने कार्यक्रममा सहभागीहरूको निष्कर्ष थियो ।

प्रकाशित मिति: २०२६-०८-१७ , समय : २२:१३:२२ , ५२ मिनेटutes अगाडि