रुपन्देही खबर , ४१ पटक हेरिएको
काठमाडौं, भदौ ५
जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले उक्त दिनलाई पुनः आन्दोलन गर्नेभन्दा गत वर्षको जेनजी आन्दोलनको स्मरण, शहीदप्रति श्रद्धा, घाइतेको सम्मान र राष्ट्रिय एकताका लागि समर्पित गर्न आग्रह गर्नु भएको हो । राष्ट्रिय नागरिक जेनजी अभियानले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदको आत्माको शान्ति, घाइतेको आत्मबल, शहीद परिवारको भरोसा तथा जनताको एकताका लागि नागरिक एकजुट हुनुपर्ने बताउनु भयो ।
“भदौ २३ गते आन्दोलन गर्न होइन, आन्दोलनको सम्झना र सम्मानमा जुटौँ,” उहाले भन्नु भयो , “शहीदको आत्माको शान्ति, घाइतेको आत्मबल, शहीद परिवारको भरोसा र नेपाली जनताको एकताका लागि लाखौँ नागरिक सडकमा उत्रिऔँ।”
हमालले गत वर्षको जेनजी आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनीमार्फत राज्यविहीनताको अवस्था सिर्जना गर्ने शक्तिहरू नै अहिले सरकारको नेतृत्वमा पुगेको आरोप लगाउनु भयो। आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका मुद्दा सम्बोधन गर्नुपर्ने सरकार त्यसको विपरीत दिशामा अघि बढिरहेको उहाको दाबी थियो।
उहाले प्रधानमन्त्रीका नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति तथा परराष्ट्रमन्त्रीले सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत सन्धिको सक्कल प्रति नेपालसँग नरहेको भन्दै दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनु भयो । यस्ता विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएकाले गम्भीर सार्वजनिक बहस र छानबिन आवश्यक रहेको उहाले बताउनु भयो । गत वर्षको आन्दोलनमा भएको बलिदान र नागरिकका अपेक्षामाथि घात गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै हमालले आवश्यक परे आफूहरू पुनः संघर्षका लागि तयार रहेको बताउनु भयो ।
उहाले भदौ २३ गतेलाई विगतको आन्दोलन सम्झिने दिनमा मात्र सीमित नगरी शहीदको बलिदान, घाइतेको पीडा र शहीद परिवारको अपेक्षालाई सम्मान गर्दै राष्ट्रिय एकता, सुशासन र जनताको आकांक्षाका पक्षमा नयाँ संकल्प गर्ने दिन बनाउन सबै नेपालीलाई आह्वान गर्नु भयो ।
प्रकाशित मिति: २०२६-०८-२१ , समय : २०:०७:१० , ५३ मिनेटutes अगाडि