रुपन्देही खबर , ४३ पटक हेरिएको
भैरहवा, असोज २
रुपन्देहीको भैरहवामा नसा तथा मानसिक रोगको विशेषज्ञ उपचार सेवा प्रदान गर्ने उद्देश्यले ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका–१२, कालिकास्थानस्थित सिद्धार्थ बैंक नजिकै स्थापना गरिएको क्लिनिकले आज शुक्रबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो ।

क्लिनिकको शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले सेवा शुभारम्भ गर्नुभएको हो । भैरहवा र आसपासका बासिन्दाले नसा तथा मानसिक रोगको उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न सहरमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको नसा तथा मानसिक रोग विशेषज्ञ डा. नसिम अकरमले बताउनुभयो ।
क्लिनिकमा नसा तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ परामर्श, काउन्सिलिङ, उपचार तथा फार्मेसी सेवा उपलब्ध हुने डा. अकरमले जानकारी दिनुभयो । उहाँका अनुसार क्लिनिकमा दैनिक बेलुका ४ बजेदेखि राति ९ बजेसम्म सेवा सञ्चालन हुनेछ ।
क्लिनिकमा मानसिक तथा नसा रोगसँगै एन्जाइटी, डिप्रेसन, माइग्रेन, निद्रा नलाग्ने, अत्तालिने, साइकोसिस तथा यौन स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई परामर्श तथा विशेषज्ञ उपचार सेवा प्रदान गरिने जनाइएको छ ।
डा. अकरमका अनुसार बाल्यकालदेखि हुर्किने वातावरण, परिवार तथा साथीभाइसँग आफ्ना समस्या खुलेर व्यक्त गर्न नसक्ने अवस्था लगायतका कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ । त्यस्तै, मेरुदण्डबाट जाने नसा च्यापिँदा हातखुट्टा झमझमाउने तथा शरीरमा स्फूर्ति नहुनेजस्ता समस्या पनि सर्वसाधारणमा देखिने गरेको उहाँले बताउनुभयो ।
‘समयमै समस्या पहिचान गरी आवश्यक परामर्श र उपचार लिन सके नसा तथा मानसिक स्वास्थ्यसम्बन्धी धेरै समस्याको व्यवस्थापन गर्न सकिन्छ,’ डा. अकरमले बताउनुभयो ।
क्लिनिकका सञ्चालक रोशन गुप्ताका अनुसार क्लिनिक सञ्चालनको अवसरमा ओपीडी सेवा निःशुल्क गरिएको छ भने प्रयोगशाला परीक्षणमा समेत विशेष छुटको व्यवस्था गरिएको छ । क्लिनिकमा न्युरो–साइक्याट्रिक अर्थात् नसा तथा मानसिक रोगको उपचारलाई मुख्य प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयस्तरमै नसा तथा मानसिक रोगको विशेषज्ञ सेवा उपलब्ध भएपछि उपचारका लागि बाहिरी सहर तथा भारतका अस्पतालमा जानुपर्ने बिरामीको संख्या घटाउन सहयोग पुग्ने क्लिनिकको अपेक्षा छ ।
प्रकाशित मिति: २०२६-०९-१८ , समय : २२:५६:१९ , १ घन्टा अगाडि