रुपन्देही खबर , ३९ पटक हेरिएको
भैरहवा, असोज ७
प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले प्रविधिको विकाससँगै जनप्रतिनिधिका गतिविधिमाथि जनताको निगरानी बढेकाले अब भाषण र आश्वासनभन्दा कामको परिणामबाट जवाफ दिनुपर्ने बताउनुभएको छ।
भैरहवामा आयोजित रोटयाक क्लब अफ रोहिणीको पदस्थापन कार्यक्रममा बोल्दै उहाँले निर्वाचनपछि जनताबाट टाढा रहने पुरानो राजनीतिक अभ्यास बदलिएको बताउनुभयो। संसद्का गतिविधि प्रत्यक्ष प्रसारण हुने भएकाले नागरिकले आफ्ना क्षेत्रबाट निर्वाचित प्रतिनिधिले संसद्मा के गरिरहेका छन् भन्ने प्रत्यक्ष रूपमा हेर्न र प्रश्न गर्न सक्ने अवस्था बनेको उहाँको भनाइ थियो।
“अब सबै कुरा लाइभ भइरहेको छ। हामी यहाँ बोल्दैछौँ, लाइभ भइरहेको छ। जनताले हेरेका छन्–मेरो गाउँबाट जितेर गएको प्रतिनिधि के गर्दैछ ?” उहाँले भन्नुभयो।
सुनारले जनताको राजनीतिक चेतना र अपेक्षा बढ्दै गएकाले जनप्रतिनिधिले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न जिम्मेवार हुनुपर्ने बताउनुभयो। गाउँ, जिल्ला र विभिन्न क्षेत्रबाट आएका प्रश्न तथा अपेक्षालाई संसद्मा प्रभावकारी रूपमा उठाउनु जनप्रतिनिधिको दायित्व भएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले पुराना राजनीतिक दल र नेताहरूले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि गरेको संघर्षको सम्मान गर्दै बदलिँदो परिस्थितिअनुसार आफूलाई पनि परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो। नयाँ पुस्ताको राजनीतिक सहभागिता बढिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक संस्कार र कार्यशैलीमा समेत समयअनुकूल परिवर्तन आवश्यक रहेको बताउनुभयो।
सार्वजनिक स्रोत र राज्यको बजेट खर्च गर्दा त्यसको आवश्यकता, पारदर्शिता र परिणाम सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। सरकारी कार्यक्रमका नाममा ठूलो रकम खर्च भए पनि त्यसको प्रभाव र उपलब्धि नदेखिने अवस्थाप्रति प्रश्न उठाउँदै उहाँले कागजी प्रक्रिया पूरा गर्नु मात्रै विकासको प्रमाण हुन नसक्ने बताउनुभयो।
“राज्यको ठूलो रकम खर्च भइरहेको छ भने त्यसको हिसाब–किताब र परिणामबारे जनताले जानकारी पाउनुपर्छ,” उहाँले भन्नुभयो।
सांसद सुनारले सार्वजनिक खर्चका विषयमा आफूले संसद्मा नियमित रूपमा प्रश्न उठाउँदै आएको दाबी गर्दै जनताको रकम जनहितमै प्रयोग भए–नभएको निरन्तर निगरानी आवश्यक रहेको बताउनुभयो।
निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न उपलब्ध समयको अधिकतम सदुपयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिक पदलाई अधिकारभन्दा बढी जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो। जनताको विश्वास कायम राख्न भाषण र आश्वासनभन्दा कामको परिणाम महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
उहाँले लोकतान्त्रिक व्यवस्थालाई थप जवाफदेही र परिणाममुखी बनाउन सबै राजनीतिक पक्ष तथा जनप्रतिनिधिको भूमिका आवश्यक रहेको बताउँदै आफूले पाएको जिम्मेवारी पूरा गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रकाशित मिति: २०२६-०९-२३ , समय : ११:१६:४३ , १ घन्टा अगाडि