बालिका अपहरणको आरोपमा युवक पक्राउ, प्रहरीको गोली लागेर घाइते

रुपन्देही खबर , ५४  पटक हेरिएको

भैरहवा, असोज १८ 

रुपन्देहीमा १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१० शान्तिनगरका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट गत बुधबार राति घरभित्र सुतिरहेको अवस्थामा बालिका अपहरणमा परेकी थिइन्। घटनापछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।

खोजतलासका क्रममा प्रहरीले शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–स्थित कान्छी बजारको जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो।

बालिका अपहरणमा संलग्न रहेको आरोप लागेका थारु फरार थिए। प्रहरीले उनलाई फेला पारेपछि पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेको जनाउँदै गोली प्रहार गरिएको जनाएको छ।

गोली लागेर खुट्टामा चोट लागेका थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०४ , समय : १३:२२:५४ , ५८ मिनेटutes अगाडि