रुपन्देही खबर , ५४ पटक हेरिएको
भैरहवा, असोज २६
अग्रगामी मोर्चा रुपन्देहीले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोमबार भैरहवामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले संघीयताको प्रभावकारी कार्यान्वयन, मधेस आन्दोलनका उपलब्धिको संरक्षण, संगठन विस्तार र राजनीतिक सहकार्यमा जोड दिएका छन्।
जनता समाजवादी पार्टी नेपालका रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष विजयबहादुर सिंह, जनमत पार्टीका जिल्ला अध्यक्ष शिवचरण सहानी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जिल्ला अध्यक्ष इन्जिनियर समीरको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले रुपन्देहीसहित लुम्बिनी प्रदेशलाई नमुना प्रदेशका रूपमा स्थापित गर्न सबै राजनीतिक दल र नेतृत्वबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले प्रदेशको विकास र समृद्धिका लागि अनुभवी नेतृत्वको मार्गदर्शन महत्त्वपूर्ण हुने उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। केन्द्रीय नेताहरू गाउँगाउँमा पुगेर जनतासँग जोडिने अभियानमा रहेको उहाँले बताउनुभयो।
यस्तै गरी जनता समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष रामअवतार यादवले मधेस आन्दोलन, थरुहट आन्दोलन तथा विभिन्न राजनीतिक सहमति र सम्झौतामार्फत प्राप्त उपलब्धि र संविधानमा सुनिश्चित अधिकारको कार्यान्वयनका लागि अग्रगामी मोर्चालाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो। उहाँले विजयादशमी, दीपावली तथा छठ पर्वपछि आफ्ना माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराउने र आवश्यकताअनुसार आन्दोलनको तयारी गर्ने विषयमा नेताहरूले लक्ष्य निर्धारण गरेको जानकारी दिनुभयो।
अध्यक्ष यादवले मोर्चामा आबद्ध दलहरूबीच चुनावी तालमेलको सम्भावना रहेको उल्लेख गर्दै पार्टी र मोर्चाको निर्णयअनुसार अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भविष्यमा विभिन्न दलबीच एकता भएर एउटै पार्टी निर्माण हुन सक्ने सम्भावनासमेत औँल्याउनुभयो। प्रदेशदेखि जिल्ला, स्थानीय तह र सम्भव भएका स्थानमा वडा तहसम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले योग्य र सक्षम नेता तथा कार्यकर्तालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभयो।
यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सचिवालय सदस्य बामदेव क्षेत्रीले अग्रगामी मोर्चालाई टिकाउ र प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच सहकार्य, वैचारिक स्पष्टता र आपसी विश्वास आवश्यक रहेको बताउनुभयो। विभिन्न राजनीतिक दलमा आबद्ध भएर काम गरेका नेताहरूलाई साझा उद्देश्यका लागि एउटै मोर्चामा ल्याउने प्रयास गरिएको उल्लेख गर्दै उहाँले नौवटा राजनीतिक दल मिलेर मोर्चा गठन गरिएको बताउनुभयो।
क्षेत्रीले मोर्चा लामो समयसम्म टिक्न नसक्ने टिप्पणी भइरहे पनि साझा विचार र उद्देश्यका आधारमा यसलाई बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। उम्मेदवार छनोट र राजनीतिक स्वार्थका विषयमा उत्पन्न हुन सक्ने विवादलाई आपसी समझदारीबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले लोकतन्त्र, संघीयता, समानुपातिक समावेशिता र समानताको संरक्षण गर्दै विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेशलाई नमुना बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै क्षेत्रीले प्रदेशस्तरमा सम्भव नभए रुपन्देहीलाई नै राजनीतिक सहकार्य र एकताको नमुना बनाउन सकिने बताउनुभयो। उहाँले अग्रगामी मोर्चालाई चुनावी तालमेलमा मात्र सीमित नराखी साझा राजनीतिक उद्देश्य र विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
यस्तै गरी नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज रामु यादवले संघीयताको मर्मअनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो। उहाँले संघीयता खर्चिलो भएको भन्दै बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाउँदै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
यादवले जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास र शिक्षाको सुनिश्चितता राज्यको प्राथमिकता हुनुपर्ने बताउनुभयो। पहिचानसहितको संघीयता र विभिन्न समुदायका राजनीतिक मुद्दा सम्बोधन गर्ने विषयमा राजनीतिक दलहरूले व्यवहारमै प्रतिबद्धता देखाउनुपर्ने उहाँको भनाइ थियो। संघीयताका नाममा जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उहाँले मन्त्रालयका सचिवालय र मन्त्रीका सल्लाहकारलगायतका संरचनामा हुने खर्चबारे पनि बहस हुनुपर्ने बताउनुभयो।
देशमा लगानीमैत्री वातावरण कमजोर हुँदा रोजगारी सिर्जनाको लक्ष्य पूरा गर्न कठिन हुने उल्लेख गर्दै यादवले सेयर बजारको अवस्था, लगानीकर्ताको विश्वास र रोजगारीका अवसर विस्तारमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले महँगी, इन्धन र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणलाई आर्थिक भार परेको उल्लेख गर्दै जनताका समस्या समाधान गर्न प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो।
रुपन्देहीसहित लुम्बिनी प्रदेशको विकास अपेक्षाअनुसार हुन नसकेको धारणा व्यक्त गर्दै यादवले अग्रगामी मोर्चामा आबद्ध दलहरूले जिल्लास्तरीय साझा कार्ययोजना बनाएर संयुक्त रूपमा अघि बढ्नुपर्ने प्रस्ताव राख्नुभयो। कार्यक्रममा आम जनता पार्टीका सचिवालय सदस्य राधेश्याम गुप्ता, जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता लगायतले चाडपर्वको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा आगामी कात्तिक १४ गते भैरहवा र १५ गते नेपालगञ्जमा केन्द्रीय नेताहरूको सम्बोधनसहित आमसभा आयोजना गर्ने विषयमा छलफल भएको जानकारी दिइएको थियो।
प्रकाशित मिति: २०२६-१०-१३ , समय : ००:३४:२० , २१ मिनेटutes अगाडि