रुपन्देही खबर , २८७ पटक हेरिएको
मर्चवार, कार्तिक १६
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
गत कात्तिक १२ गते बिहीबार कोटहीमाई गाउँपालिका–७ स्थित धान खेतमा खातुनको शव फेला परेको थियो। शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा सोमबार चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ का बैजनाथ यादवसहित चार जना रहेका छन्।
प्रहरी निरीक्षक साहका अनुसार पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। मृतक खातुनको शरीरबाट लुटिएका गरगहनाको खरिद–बिक्री, हत्याको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घटनामा पक्राउ परेका व्यक्तिहरूको विस्तृत परिचय, हत्याको कारण र घटनाको अन्य विवरण मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-११-०२ , समय : २०:३०:५४ , १ घन्टा अगाडि