जुबेदा खातुन हत्या प्रकरणमा चार जना पक्राउ, तीन कसुरमा अनुसन्धान हुँदै

रुपन्देही खबर , ४३  पटक हेरिएको

भैरहवा, कात्तिक १७

रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४१ वर्षीया जुबेदा खातुन धोबीको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जनामाथि ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार गत कात्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा पर्ने धान खेतमा खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खातुनको टाउकोमा कोदालोको बिँडले प्रहार गर्नुका साथै घाँटीमा हँसियाले घोपी हत्या गरिएको र कानमा लगाएका सुनका गहना लुटेर लगिएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोटहीमाई गाउँपालिका–६ का चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, बोगडीका २६ वर्षीय मन्जे हरिजन, खजनी चोककै ३० वर्षीय प्रमोदकुमार कुर्मी र मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेका छन्।

प्रहरीले उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरेको छ।

प्रकाशित मिति: २०२६-११-०३ , समय : १५:३९:२५ , २ घन्टा अगाडि