रुपन्देहीको धकधइमा बृहत खुल्ला कुस्ती(दंगल) प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , ३४०  पटक हेरिएको

भैरहवा, कार्तिक १७

रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व जमाएका छन् । मधेश प्रदेशसहित लुम्बिनी प्रदेशकै पहलमानहरुको सहभागीता रहेको प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व देखाएका हुन् ।

रोहिणी–३ स्थित धकधईमा मंगलबार र बुधबार भएको प्रतियोगितामा पहलमानसँगै दर्शकको उत्साहजनक उपस्थिति रहेको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । तराई मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाबाट पाँच लाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिनु भयो । कुस्ती प्रतियोगिता मार्फत स्थानीय पहलमानहरु उत्पादन गर्ने उद्देश्य समेत रहेको उहाले बताउनु भयो । आगामी दिनमा पनि कुस्ती प्रतियोगितालाई निरन्तरता दिने उहाको भनाइ छ ।

प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम हुनु भएको छ । उहाले भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गर्दै प्रथम हुनु भएको हो । त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमान दोस्रो हुनु भएको छ। जितेन्द्रले भारत हरियाणाका भीम पहलमानलाई पराजित गर्नु भएको थियो । प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलमान तेस्रो हुनु भएको छ। मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराउनु भएको थियो । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गर्नु भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, दोस्रो हुनेलाई रु. ५० हजार ५ सय ५५, तेस्रोलाई रु. २५ हजार २ सय २५ र सान्त्वना हुनेलाई रु. १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताउनु भएको छ । त्यस्तै निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहन वापत साइकल र टेलिभिजन प्रदान गरिएको क्षेत्रीले जानकारी दिनु भयो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका पहलमानहरुको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले जानकारी दिनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताउनु भएको छ । उहाले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताउनु भएको छ । उहाले भन्नु भयो ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ ।’

प्रकाशित मिति: २०२२-११-०३ , समय : १०:४०:३१ , २ वर्ष अगाडि