चुनावी गठबन्धनको शिकार महिला उम्मेदवार

सुजिता श्रेष्ठ , २७६  पटक हेरिएको

भैरहवा, मंसिर १

प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य दलहरूले नै महिला सहभागिताको विषयलाई प्राथमिकता दिएका छैनन् । संख्याका हिसाबले राष्ट्रिय दलहरूमध्ये सबैभन्दा धेरै नेकपा (एमाले) ले ११ जना महिला उम्मेदवार उठाएको छ जुन उसले उठाएका १३९ मध्ये झण्डै ८ प्रतिशत हो । तर पाँचदलीय गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) ले आफूले उठाएका उम्मेदवारका हिसाबले झण्डै १६ प्रतिशत, नेपाली कांग्रेसले झण्डै ५ प्रतिशत उठाएका छन् ।

लुम्बिनी प्रदेशमा पनि राजनीतिक दलहरुले महिला उम्मेदवार निकै कम उठाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी उत्साहजनक देखिएपनि महिला सहभागिता भने निराशाजनक देखिएको हो ।

समानुपातिक तर्फ लुम्बिनी प्रदेशमा महिला उम्मेदवारको ३५ सिट रहेको छ । महिला अधिकार, महिला सशक्तिकरण, सहभागिता र नेतृत्व समावेशीमा बुलन्द दाबी गर्ने दलहरु नै महिला उम्मेदवार बनाउने चुनावी सन्दर्भ र सवालमा भने पछि देखिएका छन् ।

निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार रुपन्देही क्षेत्र नं १ मा प्रतिनिधि सभाका उम्मेदवार कुल २१ जना मध्ये महिला १ जना र पुरुष २० जना रहेका छन् भने क्षेत्र नं १(१) मा प्रदेश सभा निर्वाचनका उम्मेदवार कुल ११ जना मध्ये महिला १ जना र पुरुष १० जना रहेका छन् । क्षेत्र नं १(२) मा १४ मध्ये महिलाको उम्मेदवारी शुन्य रहेको छ भने पुरुष १४ जना रहेका छन् ।

क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार १५ जना मध्ये महिला २ जना र पुरुष १३ जना रहेका छन् । त्यसै गरी प्रदेश सभा निर्वाचनमा क्षेत्र नं २(१) मा १२ जना प्रदेश सभा उम्मेदवार मध्ये महिला ३ जना र पुरुष ९ जना रहेका छन् ।

त्यसैगरी क्षेत्र नं २(२) मा ११ जना उम्मेदवार मध्ये महिलाको संख्या शुन्य रहेको छ भने उम्मेदवार पुरै ११ जना पुरुष नै रहेका छन् । क्षेत्र नं ३ मा प्रतिनिधि सभा निर्वाचनका २२ जना उम्मेदवार मध्ये महिला ४ जना रहेका छन् भने पुरुष १८ जना रहेका छन् । प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं ३(१) मा ११जना मध्ये महिला १ जना पुरुष १० जना रहेका छन् । त्यसैगरी क्षेत्र नं ३(२) मा ११ जनामध्ये महिला २ जना र ९ जना पुरुष उम्मेदवार रहेका छन् । त्यसैगरी प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं ४ मा १३ जना मध्ये महिला उम्मेदवार शुन्य रहेको छ ।

प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं ४(१) मा ६ जना उम्मेदवार मध्ये महिला उम्मेदवारको संख्या शुन्य रहेको छ । त्यसैगरी क्षेत्र नं ४(२) मा १२ जना मध्ये महिला उम्मेदवारको संख्या १ रहेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं ५ मा १७ जना उम्मेदवार मध्ये १ जना महिलाको मात्र उम्मेदवारी रहेको छ । प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं ५(१) मा १३ जना उम्मेदवार मध्ये १ जना महिलाको उम्मेदवारी रहेको छ ।

त्यसैगरी क्षेत्र नं ५(२) मा १३ जना उम्मेदवार मध्ये १ जना महिलाको उम्मेदवारी रहेको छ । विभिन्न दलका राजनैतिक पार्टीसँग गठबन्धन हुनु, स्वतन्त्र उम्मेदवारमा समेत महिलाको रुचि नहुँदा र महिलामा अन्तरहृदयदेखि नै हिम्मत,जोस ,जाँगर नभएकाले महिला उम्मेदवारको संख्यामा कमी आएको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताउनु भएको छ ।

महिलाहरुमा दक्षता र क्षमता हुँदाहुँदै पनि उनीहरुमाथि प्रश्न खडा गर्ने, संविधानले सुनिश्चित गरेको कानुन बनेपनि तल्लो तहदेखि माथिसम्म नै महिलाका हक अधिकार वास्तविक व्यवहारमा कार्यान्वयन हुन नसक्नु , जातिय र लैङ्गिक आधारमा विभेद गर्ने, सहकार्यका लागि काँधमा काँध मिलाउने तर अवसर दिनबाट बन्चित गर्ने, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रुपमा उत्पीडन गरी अवसर दिन नखोज्ने जस्ता कारणले उम्मेदवारी कम भएको महिला अगुवाहरु बताउँछन् ।

महिलाहरु एकजुट नहुने, पार्टीगत घेराबन्दी र आन्तरिक असन्तुष्टिले गर्दा महिलाले प्रत्यक्ष उम्मेदवारी लिनबाट बन्चित हुनुपरेको रुपन्देहीका महिला अधिकारकर्मी माया उपाध्यायले बताउनु भएको छ । महिलाको अर्थपूर्ण सहभागिता तल्लो तहदेखि माथिसम्म नै हुन नसक्नु, महिलाका लागि संवेदनशील हुन नसक्ने समाज, घरबाहिरको महिलाको नेतृत्वलाई स्वीकार्न नसक्नु जस्ता कारणले गर्दा पनि प्रतिनिधि तथा प्रदेश सभामा महिलाको प्रत्यक्ष उम्मेदवारी शुन्य रहेको र महिलालाई समानुपातिकमा मात्र उम्मेदवार बनाउने राजनीतिक दलको प्रवृत्तिले गर्दा अझै पनि राजनीतिमा महिला पछि पर्नु परेको उहाले बताउनु भयो ।

महिला स्वयं सामाजिक, आर्थिक र राजनीतिक डरबाट माथि उठ्न सकेमा प्रदेश तथा केन्द्रमा महिलाहरु नेतृत्वमा पुग्न सक्ने संख्यामा समेत वृद्धि हुने रुपन्देहीका अर्का महिला अधिकार कर्मी मिनाक्षी न्यौपानेले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : २३:०६:४८ , २ वर्ष अगाडि