मिडियाले हिंसा न्यूनिकरण हुने गरी सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड

उर्मिला यादव यात्री , ४७९  पटक हेरिएको

बुटवल, मंसिर २६

मिडियाले हिंसा न्यूनिकरण हुने गरी सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति तथा कार्यक्रम ल्याउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा भएको लैङ्गिक हिंसा न्यूनीकरणमा मिडिया र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

यस्तै गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लैङ्गीक बिभेदलाई न्यूनीकरण गर्न स्थानीय तह, पत्रकार र नागरिक समाज सँगसँगै मिलेर काम गर्नुपर्ने बताउनु भएको छ । उहाले हिंसा जुनसुकै क्षेत्र, जाती र लिङ्गका ब्यक्तिहरुमाथी हुने गरेका घटना आएको बताउदै यसको न्यूनीकरणका लागि सबै आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले सबैलाई शिक्षामा ध्यान दिनुपर्ने बताउँदै तिलोत्तमाका सरकारी बिद्यालयका विद्यार्थीहरुलाई दिवा खाजामा १० रुपैयाँ थपेर २५ रुपैया प्रतिब्यक्ती बनाएको बताउनु भएको छ । उहाले आफुले पाउदै आएको सेवासुबिधाको अक्षय कोष स्थापना गरेर गरीब तथा जेहेन्दार बालबालिकाहरुलाई छात्रबृति कोष निमार्ण गरी बालदिवसको अवसरमा १ सय ४७ बालबालिकालाई प्रतिबालबालिका रु ४ हजार छात्रबृति प्रदान गर्दै आएको बताउनु भएको छ । उहाले शिक्षाको क्षेत्रलाई माथि उकास्न सके शिक्षाबाट नै रोजगार प्राप्त हुने र संस्कार पनि बस्ने हुदा हिंसा न्युनिकरण र लैंगिक बिभेद पनि कम हुनेमा जोड दिनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले महिलाका समाचारलाई मिडियाले प्राथमिकता नदिएको बताउनु भएको छ । उहाले समाज रुपान्तरणमा मिडियाको भूमिका महत्वपुर्ण भएकोले लैंगिक हिंसा न्यूनिकरणमा पनि मिडियाको अहम भूमिका हुने बताउनु भएको छ । उहाले सबै पक्ष संवेदनशिल हुँदा मात्रै सभ्य समाज बन्ने बताउदै बुटवल उपमहानगरले लैंगिक विभेदलाई चिर्ने गरि कार्यक्रम निर्माण गरेको बताउनु भएको छ । उहाले महिलाहरु स्वरोजगार बन्नुपर्ने र यसका लागी स्थानिय तहरुले सोही अनुरुप कार्यक्रमहरु ल्याउन आग्रह गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले सबै समान हुन सके हिंसामा कमी आउने बताउदै छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्ने बताउनु भएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुवँरले जिल्ला प्रशासन कार्यालयले सेफ हाउस निर्माण लगायतका कार्यहरु गरिरहेको बताउदै लैङ्िगक हिंसा अन्त्यको लागि सबैले पहल गर्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । यस्तै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख रबिन्द्र रेग्मीले हिंसा विरुद्धका घटनामा प्रहरीको भुमिका सकारात्मक रहेको बताउदै मदिरा सेवनले हिंसाका घटना बढेको बताउनु भएको छ । उहाले मदिराको प्रयोगमा नियन्त्रणको लागि स्थानीय तहले कानुन बनाएमा ब्यवस्थापन गर्न सहज हुनेमा जोड दिनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्वअध्यक्ष विनोद पहाडीले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यवहारिक बनाउन जोड दिनु भएको छ । उहाले स्थानिय तहले ५ बर्ष भित्रमा महिला हिंसा न्युनिकरणको बिषयमा के कस्तो काम गरेको सो को मुल्यांकन गर्नुपर्ने बताउनु भएको छ । उहाले रुपन्देही जिल्लालाई नमुना जिल्ला बनाउनका लागी हरेक स्थानिय तहले संकल्पका साथ काम गर्नु पर्ने बताउदै यसको प्रगति बिवरण निकाल्न सके मात्र सोचे अनुरुप काम गर्न सकिने बताउनु भएको छ । उहाले लैंगिक हिंसा न्यूनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने समुदाय, ब्यक्ति ,समाज र संघसंस्थालाई हरेक स्थानिय तहले मुल्याकंन गरी पुरस्कृत गर्नुमा जोड दिनु भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार ईन्दिरा अर्यालले लैंगिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका बिषयमा प्रस्तुती राख्दै स्वरुप बदलिएर लैंगिक हिंसा समाजमा रहेकाले यसको अन्त्यका लागि मिडियासँगै स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योगी व्यवसायी समेत जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष एव फ्री मिडिया नेटवर्क रुपन्देही संयोजक रामराज पोख्रेलले हिंसा रहित समाज निर्माणका लागि समाजलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिनु भएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलको स्वागत मन्तब्य रहेको कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरा गौतम, मानवअधिकारकर्मी रिमा बिसि, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का लगायतले आ आफनो भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ११:२८:४९ , २ वर्ष अगाडि