जगिलाल थापा , २९० पटक हेरिएको
कञ्चन, पुस ८
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ स्थित झारगैराबाट ३३ हजार केभिए प्रसारण लाइन जडान भएको बिधुत पोलबाट ५० केभिएको ट्रान्सफरमर चोरी भएको छ। बिहान एक स्थानीय प्रितम पौडेलले खेतमा पराल लिन जानेक्रममा बिधुतको पोलमा ट्रान्सफरमर नदेखे पछि ईलाका प्रहरी कार्यालय, रुद्रपुरलाई जानकारी दिइएको थियो।
ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाए अनुसार वडा नं. ३ को झारगैरा स्थित शिव मन्दिर डिप ट्यूवेल सिंचाई परियोजनामा जडान भएको ट्रान्सफरमर अज्ञात समूहले टोडफेड गरी ट्रान्सफरमर भित्र रहेको तामा, तोल र बहुमुल्य बस्तु झिकेर लगेको र बहिरी कभरमात्र रहेको पाइएको छ। हिजो दिउसो सोही डिप ट्युवेलबाट त्यस क्षेत्रका किसानहरुले सिंचाई गरेका थिए । ३ बर्ष अघि जडान भएको सो ट्रान्सफरमर साँझसम्म रहेको र राती कसले कतिबेला चोरी गर्यो भन्ने कुरा थाहा हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस अघि पनि सोही वडाको प्रतापपुरमा रहेको डिप ट्युवेल सिंचाई परियोजनाको नयाँ ट्रान्सफरमर चोरी भएको थियो। २ बर्ष अगाडी गैडहवा ४ पोहवामा रहेको भैलु भुजा सिंचाई योजनाबाट पनि २०० केभिएको ट्रान्सफरमर चोरी भएको थियो। तर अहिलेसम्म प्रहरी प्रशासन र नेपाल बिधुत प्राधिकरणले चोरीमा संलग्नहरुको कुनै पत्ता लगाउन सकेको छैन।
प्रकाशित मिति: २०२२-१२-२३ , समय : १०:४५:०७ , २ वर्ष अगाडि