रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको १२ औँ अधिवेशन सम्पन्न

रुपन्देही खबर , २१३  पटक हेरिएको

भैरहवा, पुस २८

सिद्धार्थनगर नगरपालिका नगर सभाको १२ औँ अधिवेशन सम्पन्न भएको छ । सभामा नगरका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको आर्थिक वर्ष ०७९÷०८० को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उहाले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्न तर्फ ध्यान दिने बताउनु भएको छ ।

उहाले सभामा नगरमा विभिन्न स्थानमा स्मार्ट लाइन जडान गर्ने कार्य देखि लिएर नगरको सौन्दर्यकरणको लागि ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचानाहरु हटाउने कार्य सम्मको सुरुवात भएको बताउनु भएको छ ।

उहाले कार्यभार सम्हालेको सात महिना मात्र पुगेको बताउँदै सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरुले विस्तारै गति लिदै गएको तथा नगरवासीले अनुभुत गर्ने गरी विकासका प्रतिफलहरु समयक्रमसँगै प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै सभाले करको क्षेत्र थप गर्ने सम्बन्धित विषय सर्वसम्मतले पारित गरेको छ । सभाले आर्थिक ऐन २०७९ को दफा ६ सँग सम्बन्धित अनुसूची ६ मा अन्य व्यवसाय तर्फको शिर्षकमा भन्सार कार्यालयमा गोदाम तथा मालवाहक गाडीहरुको व्यवस्थापन गर्ने उद्देश्यको व्यवसाय गर्ने फर्मबाट प्रति सवारी साधन बापत एक रुपैयाँ करको दर कायम गरेको छ ।

त्यस्तै सभाले बजेट रकमान्तर तथा कार्यक्रम संसोधन सम्बन्धमा छलफल गरी बजेट रकमान्तर तथा कार्यक्रम संसोधन सर्वसम्मतले पारित गरेको नगर प्रमुख इश्तियाक अहमद खानले बताउनु भएको छ । नगर प्रमुख खानले सभालाई सम्बोधन गर्दै इमान्दारी पूर्वक जनहितमा काम गर्न जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

उप्रमुख उमा अधिकारीले नगरको विकासका लागि कर्मचारी र जनप्रतिनिधीहरु एक भएर अघि बढेको र आगामी दिन पनि मिलेर अघि बढ्ने बताउनु भएको छ ।

सभामा नगर प्रमुख खान, उपप्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडा अध्यक्षहरु, सदस्यहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो । सभा सुरुवात भएको दुई घण्टामा विवादरहित रुपमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : १९:५८:१० , २ वर्ष अगाडि