लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत नरहने

रुपन्देही खबर , ३००  पटक हेरिएको

काठमाडौं , माघ १३

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने भएको छ । उनले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था आएको हो । उनी सभापति नरहे पनि उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने रहने छ ।

‘नेपालको संविधानले नै नेपाली नागरिकले राजनीतिक दल खोल्ने र राजनीतिमा क्रियाशील हुने परिकल्पना गरेको छ’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नु भयो , ‘कोही व्यक्तिले लिएको नागरिकता पछि बदर भयो वा पेश गरेको नागरिकता बैध ठहर भएन भने त कसरी राजनीतिक दलको कुनै पद कायम रहन्छ र ?’

मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा जान्छ । त्यसलगत्तै आयोगले निर्णय गरेर अभिलेखबाट उनको नाम र सदस्यता हटाउने छ । तर पार्टीको हकमा भने पार्टीले नै निर्णय गरेर उनको पदीय भूमिकावारे निर्णय गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १९:०१:१२ , २ वर्ष अगाडि