पक्राउ परेको चोर फरार भएपछि स्थानियद्धारा जिप्रका घेराउ

रुपन्देही खबर , २९१  पटक हेरिएको

भैरहवा , माघ २९

रुपन्देहीको मायादेवी ८ बसडिलवा अवस्थित रोशन एण्ड रेनु इन्टरप्राइजेजमा यहि माघ २६ गते बिहीबार चोरीमा पक्राउ परेको ब्यक्ति प्रहरीको लापरवाहीले फरार भएपछि त्यहाका स्थानियले आज जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन । चोरी गर्ने क्रममा चोरलाई समातेर प्रहरीमा बुझाउदा चोर नै फरार हुनु गम्भिर बिषय भएको र यो बिषयलाई प्रहरीले हल्का रुपमा लिएको स्थानियले गुनासो गरेका छन ।


रोशन एण्ड रेनु इन्टरप्राइजेज संचालन गर्दै आएका ढक बहादुर कुवरको घरमा चोरी गरी घरपरिवार प्रति नै हमला गरेको र चोरलाई समाती प्रहरीलाई जिम्मा लगाइएको अवस्थामा प्रहरीको लापरवाहीले चोर फरार भएको प्रति उद्योग बाणिज्य संघ सिद्धार्थनगरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता घटनाले ब्यवसायीहरु र आमनागरीकमा त्रास पैदा गरेको र प्रहरीको लापरवाहीले चोर फरार हुनाले प्रहरी माथि नै अबिश्वास पैदा भएको उद्योग बाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष भिष्म प्रसाद न्यौपानले बताउनु भयो ।
बिगत केहि महिना देखि नै त्यस क्षेत्रमा चोरीका घटनाहरुले बढेकोले फरार चोरलाई पत्ता लगाइ कारवाही गरी आगामी दिनमा शान्ति सुरक्षाको प्रत्याभुति गराउनका लागी अध्यक्ष न्यौपानले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिक संग अनुरोध गर्नु भएको छ ।

यता प्रहरी उपरीक्षक बिकले चोर घटनास्थलमा घाइते भएको र उपचार गर्ने क्रममा मेडिकल कलेज भैरहवाबाट चोर फरार भएको बताउदै डयुटीमा खटेका दुई जना प्रहरीलाई कारवाही गरीएको बताउनु भएको छ । उहाले रुपन्देहीमा हुने चोरीका घटनालाई नियन्त्रण गर्न गस्ती बढाउने लगायत उद्योगी ब्यवसायीहरुले सिसिटिभी क्यामरा जडान गर्नुपर्ने बताउनु भयो ।

यहि माघ २६ गते मायादेवी ८ बसडिलवा अवस्थित रोशन एण्ड रेनु इन्टरप्राइजेजमा भएको चोरी घटनामा एक जना किशोरी घाइते भएको र उनको अहिले सिटी अस्पताल भैरहवामा उपचार भैरहको छ ।

प्रकाशित मिति: २०२३-०२-१२ , समय : १६:५३:०५ , २ वर्ष अगाडि