साना किसान कृषि सहकारी संस्था लिमिटेड सेमरा रुपन्देहीको पहिलो बार्षिक साधारणसभा सम्पन्न

पछि पारिएका महिलाहरुलाई सहकारी मार्फत अगाडी ल्याउनुपर्नेमा जोड

उर्मिला यादव यात्री , ४४५  पटक हेरिएको

भैरहवा, फागुन १२

साना किसान कृषि सहकारी संस्था लिमिटेड सेमरा रुपन्देहीको पहिलो बार्षिक साधारणसभा आज मर्चवारी ३ सेमरामा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष बेलावती देवी मल्लाहको अध्यक्षता तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाका अध्यक्ष एवम पुर्व कृषि तथा सहकारी मन्त्री ओमप्रकाश यादव गुल्जारीको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै मन्त्री यादवले मर्चवारमा गरिबीको रेखामुनी रहेका समुदायको जीवनस्तर उकास्नका लागी साना किसान कृषि सहकारी संस्था लिमिटेड सेमरा रुपन्देहीको स्थापना गरेको बताउनु भएको छ । उहाले पछि पारिएका महिलाहरुलाई सहकारी मार्फत अगाडी ल्याउनुपर्ने बताउदै त्यसको लागी बिभिन्न किसिमका तालिमहरु प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले मर्चवारका महिलाहरुलाई नेतृत्वमा नल्याए कसरी यस क्षेत्रका महिलाहरु अगाडी बढछन भनेर प्रश्न समेत गर्नु भएको थियो । पुर्वमन्त्री यादवले यस सहकारीको मालिक नै शेयर सदस्य भएकोले यसलाई राम्रो संग संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले सुरुमा यो सहकारी स्थापना गर्दा साहुमहाजनहरुले गर्दा धेरै कठिनाई भोग्नु परेको बताउदै आफुहरु कठिनाइको बिचमा पनि लक्ष्यदेखि बिचलित नभएको बताउनु भयो । उहाले संस्थामा दुई करोड ३८ लाख, २६ हजार रुपैयाको लगानी गरी संस्था संचालन गर्दै आएको बताउनु भयो । उहाले सहकारीमा बचत गर्ने बानीको बिकास गर्नुपर्ने बताउदै सहकारीबाट लिएको ऋण उत्पादनमुलक क्षेत्रमा लगानी गरी काम गर्न आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बेलावती देवी मल्लाहले कृषिमा लगानी गर्न आग्रह गर्नु भएको छ । उहाले साना किसान कृषि सहकारी संस्थाले पशु ब्यवसायलाई प्राथमिकतामा राख्दै पशुबिमा कार्यक्रमलाई अगाडी बढाउने बताउनु भएको छ । उहाले पशुहरुको एक लाख सम्म बिमा गरीने र एक हजारका दरले बिमा शुल्क लाग्ने बताउनु भयो भने पशुको एक बर्ष भित्रमा मृत्यु भएमा संस्थाले ८० प्रतिशत सम्म क्षतिपुर्ति दिन सक्ने समेत जानकारी दिनु भएको छ । संस्थाको अध्यक्ष मल्लाहले संस्थामा आबद्ध रहेका साना किसानका छोराछोरीहरुको कृषि तालिमका लागी इजरायल पठाइने ब्यवस्था समेत गरीने जानकारी दिनुभयो । उहाले यस सहकारीले बैदेशिक रोजगारीमा जानेका लागी तीन लाख सम्मको बिमा सहितको ऋणको ब्यवस्था गर्दै आएको बताउनु भयो ।


यस्तै गरी साना किसान बिकास लघुबित्तिय संस्था लिमिटेड इलाका कार्यालय बुटवलका इलाका प्रबन्धक गणेश प्रसाद भटराईले साना किसान कार्यक्रममा सरकारको पनि सहभागिता रहेको जानकारी दिनु भएको छ । सहकारीमा शेयर सदस्य नै मालिक हुने कार्यक्रम भएको बताउदै यो सहकारी किसान र गरिबीका रेखामुनी रहेका जनताहरुको लागी खोलिएको बताउनु भएको छ । उहाले शेयर सदस्यहरुलाई गाई भैसी, बाख्रा पाल्ने लगायत तरकारी खेती गर्न आग्रह गर्दै किसानलाई सरकारले सस्तो ब्याजदरमा ऋण प्रदान गर्दैै आएको बताउनु भयो ।

उहाले आगामी दिनमा सहकारीका शेयर सदस्यहरुलाई तालिम गोष्ठी लगायतका कार्यक्रम साथ सहकारीको बिषयमा तालिम प्रदान गरिने बताउनु भयो । सरकारले किसानलाई कर्जा प्रदान गर्ने भएकोले किस्ता र ब्याज समयमै तिर्न आग्रह गर्नु भएको छ । उहाले नियमित बचत र शेयर बढाउन पनि जोड दिनु भयो । साना किसान सहकारीले शेयर सदस्यहरुका लागी पशुपालन, माछापालन लगायतका क्षेत्रमा ५० लाख सम्मको कर्जा प्रदान गर्दै आएको पनि भटराईले जानकारी दिनु भएको छ ।


यस्तै गरी कार्यक्रममा संस्थाको संचालक समिती सदस्य श्याम दुलारी हरीजनको स्वागत मन्तब्य रहेको कार्यक्रममा साना किसान बिकास लघुबित्तिय संस्था लिमिटेड इलाका कार्यालय बुटवलका बरिष्ठ अधिकृत निरन्जन निसाद लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन अभयकुमार तिवारीले गर्नु भएको थियो ।


साना किसान कृषि सहकारी संस्था लिमिटेड सेमरा रुपन्देहीको आज भएको पहिलो बार्षिक साधरण सभाले यस सहकारीले हालसम्म गरेको प्रगति समिक्षा, आर्थिक बर्ष २०७९÷८० को भावी बजेट एवम कार्ययोजना माथि छलफल गरी अनुमोदन समेत गरेको छ ।

यस्तै गरी यस सहकारीको पहिलो बार्षिक साधारण सभाले पुन बेलावती देवी मल्लाहको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा सरिता पासी, कोषाध्यक्षमा गिलासी ढाडिनलाई चयन गरीएको छ भने सदस्यमा लक्ष्मी देवी मौर्य , श्याम दुलारी चमाइन, जमुनी कोहाइन, शुभावती पासी, निलम कहार , सरिता कोइरी, र सदस्य सचिवमा जयप्रकाश यादवलाई चयन गरीएको छ । यस सहकारीमा कुल शेयर सदस्य सात सय ९० जना रहेका छन । भने महिला समुह संख्या १ सय २७ र पुरुष समुह संख्या सात रहेको छ ।

प्रकाशित मिति: २०२३-०२-२४ , समय : २१:२२:३३ , २ वर्ष अगाडि