मर्चवारी गाउँपालिकाका पुर्व अध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही खबर , २७५  पटक हेरिएको

भैरहवा , चैत ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पुर्व अध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा बनियाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । स्रोत नखुलेको सम्पत्तिबराबर बनियालाई ९१ लाख ८६ हजार ५४३ रूपैयाँ ३० पैसा बिगो जफत र जरिवाना असुल गर्न माग दाबी सहित मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाए ।

२०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित अध्यक्ष बनिया असार २१ देखि २०७९ वैशाख ९ सम्ममा पदमा रहे । त्यस अवधिमा पारिश्रमिक, बैठक भत्तालगायत, ट्य्राक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, निजको छोराको नाममा रहेको घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बिमाबापत प्राप्त रकम, शाखारहित बैंक सञ्चालन गरी प्राप्त गरेको आय र राइस मिलबाट प्राप्त आयसमेत गरी निज गाउँपालिका अध्यक्ष भएपछि जाँच अवधिसम्म ८४ लाख १० हजार ४ सय ५१ रूपैयाँ ६ पैसा आम्दानी देखिएको अख्तियारले जनाएको छ ।

बनियाको खर्च तथा लगानीतर्फ छोराहरूलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा विभिन्न जग्गा खरिद, बिमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्य्राक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवाब्याज रकम, राइस मिलको आयबापत तिरेको आयकर र निज तथा निजको परिवारको नाममा विभिन्न बैंकहरुमा रहेको खाताको मौज्दात गरी जम्मा १ करोड ७५ लाख ९६ हजार ९९४ रूपैयाँ ३६ पैसा देखिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

आयभन्दा व्यय ९१ लाख ८६ हजार ५४३ रूपैयाँ ३० पैसाबराबर रकमको स्रोत नखुलेको, पुर्व अध्यक्ष बनिया र उनको परिवारले उच्च जीवनस्तर यापन गरेकोजस्ता कारणले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : २२:१४:४२ , २ वर्ष अगाडि