दाङमा करेन्ट लागेर एक जनाको मृत्यु,२ जना घाइते

रुपन्देही खबर , १०६  पटक हेरिएको

दाङ, बैशाख २१

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका- १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् ।

बुधबार बेलुका ६ बजे  तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिनु भएको छ ।

उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताउनु भयो ।  मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।

त्यस्तै करेन्ट लागेर पुथा उत्तरगंगा गाउँपालिकाका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका-४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् । उनीहरु दुवै जनाको उपचार बाँकेको नेपालगंजस्थित नरसिंह होममा भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-०४ , समय : ०९:१३:०१ , १० महिना अगाडि