राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलब बाहेकका सुविधा कटौती गर्नुपर्ने गगन थापाको भनाइ

rupandehi khabar , २२९  पटक हेरिएको

मलेखु , बैशाख २३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलब बाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनु भएको छ । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने महामन्त्री थापाले बताउनु भयो ।

नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई शनिबार धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा भन्नु भयो , ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैँयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’ ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, उहाले भन्नु भयो ।

आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उहाको भनाइ छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : २०:१८:३१ , २ वर्ष अगाडि