रुपन्देहीको रोहिणी–३ मा ५० प्रतिशत अनुदानमा कृषकलाई पम्पसेट वितरण

rupandehi khabar , ३४१  पटक हेरिएको

भैरहवा, वैशाख २५

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वितरण गरिएको हो । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका कृषि शाखा प्रमुख जितेन्द्र यादवले कृषि उपकरणमा कृषकको पनि लगानी भए अपनत्व हुने भएकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताउनु भएको छ । उहाले मेशिनरीको रेखदेख, मर्मतसम्भारमा ध्यान दिन कृषकहरुलाई आग्रह गर्नु भएको छ । उहाले ‘उपलब्ध भएको पम्पसेटबाट कसरी लाभ लिने, कसरी उत्पादकत्व बढाउने भन्नेतर्फ ध्यान दिन आग्रह गर्दै मेशिनको दुरुपयोग नगर्न अनुरोध समेत गर्नु भएको छ । कृषि शाखा प्रमुख यादवले कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक रहेको बताउनु भएको छ । रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले कुनै पनि किसानलाई भेदभाव नगरिएको बताउनु भएको छ । उहाले वडाका विभिन्न स्थानमा बोरिङ जडान गरिएको बताउनु भयो । उहाले भन्नु भयो , ‘हिजो जुन स्थानमा केही उत्पादन भएको थिएन, आज त्यहाँ हराभरा छ । यसले हामीलाई खुसीको अनुभुति भएको छ । ’ गाउँ कार्यपालिका सदस्य नियामत अलीले तरकारी खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गर्नु भएको छ ।। उहाले ‘नेपाल कृषिप्रधान देश भएकोले तरकारी खेतीमा जोड दिन सक्यौं भने तरकारी किनेर खानु नपर्ने बताउनु भयो ।

रोहिणी–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले आगामी दिनमा पनि कृषि क्षेत्रको विकासका लागि वडा कार्यालय र गाउँपालिकाबाट सक्दो काम अगाडि बढाउने बताउनु भएको छ।
गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले रोहिणी गाउँपालिकामा ८० प्रतिशत बढी नागरिक कृषि पेशामा आश्रित रहेको बताउनु भएको छ । उहाले भौतिक पूर्वाधारसँगै गाउँपालिकाले सामाजिक विकासमा पनि जोड दिएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘कृषिमा आत्मनिर्भर हुनुपर्छ । परम्परागत रुपमा गरिने खेतीका कारण उत्पादनमा वृद्धि हुन सकेको छैन । नयाँनयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’ उहाले सामूहिक खेतीमा जोड दिन कृषकहरुलाई आग्रह गर्नु भएको छ । कृषकहरुको तर्फ बोल्दै स्थानीय चन्द्र कुमार सिंहले कृषकलाई पम्पसेट वितरण गरेकोमा धन्यवाद दिदै सिंचाईको व्यवस्था गर्नेतर्फ ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले भन्नु भयो ‘पम्पसेट उपलब्ध भएको छ । सिंचाईका लागि व्यवस्था गर्नेतर्फ वडा कार्यालय र गाउँपालिका लाग्नुपर्छ ।’ रोहिणी गाउँपालिका–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका कृषि शाखा प्रमुख जितेन्द्र यादवको प्रमुख आतिथ्यता, ३ नम्बर वडा कार्यालयका सहायक कम्प्युटर अपरेटर कृष्णमोहन यादवको स्वागत तथा वडा सचिव पुर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : २०:५१:५२ , १ वर्ष अगाडि