उर्मिला यादव यात्री , ४१८ पटक हेरिएको
भैरहवा, जेठ ३०
रुपन्देहीको ओमसतिया गाउपालिकाले आर्थिक बर्ष २०८०। ०८१ को नीति तथा कार्यक्रम र बजेट निमार्ण सम्बन्धी सरोकारवालाहरु संग राय सुझाव संकलन तथा छलफल गरेको छ । सोमबार ओमसतिया गाउपालिकाको कार्यालय हाटीफर्साटिकरमा सरोकारवालाहरुसंग राय सुझाव संकलन तथा छलफल गरीएको हो । कार्यक्रममा सहभागीहरुले बिकास निमार्णका कामहरु दीर्घकालीन हुने गरी योजना बनाउन सुझाव दिएका छन । गाउपालिकाले नीति कार्यक्रम बनाएर लागु गर्न सके मात्र गाउपालिकामा भएका समस्या समाधान हुन सक्ने सहभागीहरुले जोड दिएका हुन । सहभागीहरुले गाउपालिकाले बजेट निमार्ण गर्दा प्रमुख प्राथमिकता कृषिलाई दिनुपर्ने सुझाव दिएका छन । सरकारले सम्पुर्ण अधिकार स्थानिय तहलाई दिएकोले गाउपालिकाले कृषि क्षेत्रमा सिचाइको सुबिधा लगायत ,कृषकलाई समयमा बिउबिजन उपलब्ध गराउदै मलखादको ब्यवस्थापन गर्न अनुरोध गरेका छन । सहभागीहरुले गाउपालिकामा रहेका बिद्यालयहरुका प्रधानाध्यापकहरुको मनोमानीले शैक्षिक क्षेत्रमा असर पुगेकोले यस बिषयमा गाउपालिकाले अनुगमन गर्नुपर्ने सुझाव दिएका छन । गाउपालिकाको बिद्यालयहरुमा बिद्यालयको भौतिक पुर्वाधार संगै अनलाइन शिक्षाका लागी स्मार्टकोट खरिद गर्न आर्थिक सहयोग गर्नुपर्ने, दिवा खाजा रु १५ मा १० रुपैया थप गर्ने , बिद्यालयमा आवश्यक जनशक्ति उपलब्ध गराउने, एक शिक्षक एक यातायातको ब्यवस्था,सामुदायिक बिद्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई उचित पारिश्रमिकको ब्यवस्था गर्ने, सामान खरीद गर्दा प्रधानाध्यापकलाई सहभागी बनाउनु पर्ने, शिक्षकको पोशाक देखि मोवाईल सम्मका सुविधा पालिकाले उपलब्ध गराउनु पर्ने शिक्षकहरुले माग गरेका छन् ।
ओमसतिया गाउपालिकालाई समृद्ध गाउपालिका बनाउनका लागी सबै समुदायलाई समेटेर नीति तथा कार्यक्रम बनाउन आग्रह गर्दै शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न स्थानियले सुझाव दिएका छन । शिक्षा क्षेत्रमा परिर्वतन ल्याउन गाउपालिका भित्रका सरकारी कर्मचारीहरुको बालबच्चालाई सरकारी बिद्यालयमा नै अध्यापन गराउने नीति निमार्ण गर्न आग्रह गरिएको छ । स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै गाउपालिकाले दिदै आएको उपचार खर्चको सट्टा गाउंमै २५ शैयाको अस्पताल निर्माण गरी सबै गाउंवासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि स्थानीयले सुझाव दिएका छन् । सहभागीहरुले गाउपालिकामा बढदो बेरोजगारी समस्यालाई समाधान गर्न तर्फ पनि ध्यान दिन सुझाव दिएका छन । कार्यक्रममा सरोकारवालाहरुले गाउपालिका भित्र एक घर एक धारा निती निमार्ण गरी कार्यान्वयन गर्न आग्रह गरेका छन । यस्तै गरी सरसफाई क्षेत्रमा पनि योजना बनाई काम गर्न सुझाव दिएका छन । कार्यक्रममा खुल्ला सिमा नाका नजिक रहेको पालिकामा लागु औषध दुव्र्यसनीमा परेका युवायुवतीलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै सुधार केन्द्र स्थापनाका लागि वजेट विनियोजन गर्न सहभागीहरुको सुझाव छ ।
कार्यक्रममा सहभागीहरुले वडा कार्यालयमा जनताले सहज सुबिधा नपाएको गुनासो गर्दै जनताको काम समयमै सम्पादन गर्न आग्रह गरेका छन । यस्तै गरी पालिकामा रहेको सार्वजनिक जमिनको संरक्षण गर्नुपर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनु पर्ने, पालिका भित्र संचालनमा रहेका विभिन्न उद्योगहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिइएको छ । ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले आर्थिक बर्ष २०८०। ८१ को बजेटमा महिला, वालवालिका, अपांगता भएका समुह, युवा, जेष्ठ नागरिक सबैलाई समेट्ने गरी बजेट बनाउने प्रतिबद्धता गर्नु भएको छ । यस्तै गरी े पालिकाका उपाध्यक्ष सुनिता चौधरीले कार्यक्रमबाट आएका सुझावलाई मनन गर्दै महिला तथा वालबालिकालाई समेट्ने गरेर बजेट ल्याईने बताउनु भयो ।
कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जनताबाट आएका कार्यक्रम दीर्घकालिन हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले गाउपालिकाले बनाउने निति तथा कार्यक्रम आम नागरीकको जिवनमा परिर्वतनको प्रत्यक्ष अनुभव दिलाउने गरी बजेट निमार्ण गरीने बताउनु भएको छ । उहाले पालिकामा गुणस्तरीय र योग्य योजना निमार्ण गरि अघि बढने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
ओमसतिया गाउपालिका प्रवक्ता एवम वडा नम्बर ५ का अध्यक्ष मदन पोखरेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा वडा नम्बर १ देखि वडा नम्बर ६ कार्यालयका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय क्लब, बिभिन्न राजनितिक दलका प्रतिनिधि, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । भने चक्रपाणी गैरेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०६-१३ , समय : ११:४५:५१ , १ वर्ष अगाडि