अधिवक्ता शीतल पाण्डेलाई कारवाहीको माग गर्दै भैरहवामा बिरोध प्रर्दशन

उर्मिला यादव यात्री , १६८१  पटक हेरिएको

भैरहवा, साउन २२

अधिवक्ता शीतल भगवती पाण्डेले तामांग र मगर समुदायलाई अपराधिकरण गर्ने गरी बिवादास्पद अभिब्यक्ति दिएको बिरोधमा कारवाहीको माग गर्दै सोमबार भैरहवामा बिरोध प्रर्दशन गरीएको छ । नेपाल मगर संघ जिल्ला समिती रुपन्देही र नेपाल तामांग घेदुंग जिल्ला समिती रुपन्देहीको संयुक्त आयोजनामा सोमबार भैरहवामा बिरोध प्रदर्शन गरीएको हो ।

बिरोध प्रर्दशनमा सामाजिक सदभाव बिथोल्न पाइदैन, अभियुक्त शितल पाण्डेलाई हदैसम्मको कारवाही गर , अधिवक्ता भगवती पाण्डेको लाइसेन्स खारेज गर, अभियुक्तलाई छुटकारा दिन पाइदैन , जातीय सदभाव बिथोल्न पाइदैन, बहुसांस्कृतिक बिबिधतालाई सम्मान गर , दोषीलाई उन्मुक्ति दिन पाइदैन, बिभेदकारी प्रशासन पाइदैन, प्रहरी दमन बन्द गर , दोषी प्रहरीलाई कारवाही गर भन्दै नारा लगाएका थिए । भैरहवाको देवकोटा चोकदेखि सुरु भएको बिरोध रयाली जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो ।

तामांग र मगर समुदायलाई अपराधिकरण गर्ने गरी बिवादास्पद अभिब्यक्ति दिएको बिरोधमा कारवाहीको माग गर्दै नेपाल मगर संघ जिल्ला समिती रुपन्देही र नेपाल तामांग घेदुंग जिल्ला समिती रुपन्देहीले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिम हदैसम्म सजाय दिन माग गरीएको छ भने शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरू राखिरहेका अभियन्ताहरूलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक दान बहादुर कार्की सहित संलग्न सबै प्रहरीलाई कार्बाही गर्न माग गरीएको छ । यस्तै गरी २०८० साउन १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौ अभियन्ताहरूलाई उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग राखि आन्दोलकारीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । जसमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले ज्ञापनपत्र बुझदै यसलाई गृहमन्त्रालय सम्म पुरयाउने प्रतिबद्धता गर्नु भएको छ ।

नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर बिरकटटा मगरले बिरोध सभामा बोल्दै एक समुदायले अर्काे समुदायको आस्थामाथि , सामुदायिक रितिरिवाजमाथि धावा बोल्ने काम उचित नभएको बताउनु भयो । उहाले नेपालको कानुन नै मिचेर आफुहरुको प्रथाजनित रितिरिवाज माथि धावा बोल्ने अधिकार पाण्डे लगायत कसैलाई पनि नभएको उल्लेख गर्नु भयो । उहाले अधिवक्ता पाण्डेले बोलेको झुठो, कपोलकल्पित, भ्रामक र असत्य भएकोले उनलाई कारवाहीको माग गरेको बताउनु भयो । उहाले पाण्डेको अभिब्यक्तिले आफनो समुदायको मानहानी भएको बताउदै आफुहरुको रितिरिवाज माथि खलल पुरयाएकोले नेपालको कानुन बमोजिम कारवाही गर्न माग गरीएको जानकारी दिनु भयो । उहाले प्रहरी प्रशासनले नै उजुरी दर्ता नगरेपछि आफुहरु आन्दोलनमा उत्रिएको बताउनु भयो । उहाले आफुहरुले न्याय नपाए प्रशासन बिरुद्ध पनि सडकमा उत्रिने चेतावनी दिनु भयो ।

यस्तै गरी नेपाल तामांग घेदुंग लुम्बिनी प्रदेशका अध्यक्ष बिरमान लामाले आफुहरुलाई दमन गरीएको बिरुद्धमा आज सोमबार ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाएको बताउनु भएको छ । उहाले आदिवासी जनजातीलाई यसरी नै दमन गर्ने हो भने जनता चटटान भएर उठने बताउनु भयो । उहाले आफुहरुको माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिनु भएको छ ।
यस्तै गरी नेपाल मगर संघ जिल्ला समिती रुपन्देहीका अध्यक्ष आन बहादुर सोती मगरले आफुहरुको माग सम्बोधन नभए र भगवती पाण्डेलाई कारवाही नगरिए ठुलो जमातका साथ एकताबद्ध भएर पुन आन्दोलनमा उत्रिने बताउनु भएको छ ।

अधिवक्ता शीतल पाण्डेले यहि साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्वारा सञ्चालित चिया गफ कार्यक्रममा अन्तर्वाता दिने क्रममा तामाङ र मगर जातिमा दाजुबहिनी बीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैंसी र बाखाभन्दा पनि तुच्छ हुन्छ भनी सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गरेको बिरोधमा देश ब्यापी रुपमा नै बिरोध प्रर्दशन भैरहेको छ । उनले बोलको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति टेलिभिजन, युट्युब र टिकटकबाट समेत प्रत्यक्ष तथा रेकर्डेड प्रसारण भएकोले यसको बिरुद्धमा कारवाहीको माग गर्दै देशब्यापी रुपमा बिरोध प्रर्दशन गरीदै आएको छ ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : २१:२२:०९ , १ वर्ष अगाडि