रुपन्देही खबर , २४६ पटक हेरिएको
जनकपुरधाम, भदौ १८
मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन । कर्तव्य ज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं ४ ख बाट प्रत्यक्ष निर्वाचित छन ।
प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।
२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचीमा थिए । यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा र्पुयाई गोली हानी चौधरीको हत्या भएको थियो ।
उक्त विषयमा जाहेरी परेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ । मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन ।
प्रकाशित मिति: २०२३-०९-०४ , समय : १८:४५:५९ , १ वर्ष अगाडि