नवलपरासीमा अबैध सामान सहित गाडी चालक पक्राउ

रुपन्देही खबर , ७९३  पटक हेरिएको

नवलपरासी, असोज ६

जिल्ला प्रहरी कार्यालय नवलपरासीले ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामान सहित एक जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामांगको कमाण्डमा खटिएको प्रहरी टोलीले भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई शुक्रबार सरावल ६ गुजरवाटोलमा रोकेर चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको सामान प्रहरीले बरामद गरेको हो ।

सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका वडा नम्बर ५ धनगढवा बस्ने बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिनु भएको छ । भन्सार छली अबैध रुपमा ल्याउदै गरेको २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला, चाली, कालोपेन, फुल स्प्रे , पेन्टिंग ब्रस, पेन्सिल, इरेजर लगायत घरायसी सामान र १९ लाख रुपैयाँ बराबरको कन्टेनर गरी कुल ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामान बरामद भएको हो । बरामद सामान, कन्टेनर र चालकलाई आवश्यक कारवाहीका लागी आज भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-२३ , समय : १८:०६:३६ , १ वर्ष अगाडि