पश्चिम मधेश दर्पण पुस्तकको शनिबार भैरहवामा बिमोचन

रुपन्देही खबर , ३७७  पटक हेरिएको

भैरहवा, कार्तिक ११

भोला बनिया द्धारा लिखित पश्चिम मधेश दर्पण पुस्तक शनिबार भैरहवामा एक कार्यक्रमका बिच बिमोचन गरीएको छ । कान्दु वैश्य सेवा समिती सिद्धार्थनगर रुपन्देही अध्यक्ष श्रीराम गुप्ताको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा पुस्तक बिमोचन गरीएको हो । पुस्तकको बिमोचन गर्दै गृहमन्त्री पाण्डेयले सरकारसँग कतिपय अधिकार लिन नसकेको बताउनु भएको छ । उहाले अधिकारबारे निरन्तर कुरा भइरहेको बताउदै सबैको अधिकार छिटटै नै प्राप्ती हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलिएकोले यो पवित्र भूमि महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।

यस्तै गरी उहाले ‘जागरण अभियान आम जनतासम्म पुर्याउनु पर्ने बताउदै मर्चवारको अन्तिम गाउँको अन्तिम घरसम्म पुर्याउन सक्नुपर्ने जोड दिनु भयो । उहाले अधिकार प्राप्तीको अभियान हामी सबैको अभियान भएको बताउनु भएको छ । त्यस्तै स्वाधिन मधेश जनअभियानका संयोजक कैलाश महतोले निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । उहाले समतामूलक समाजको आवश्यकता रहेकोमा जोड दिनु भएको छ ।

यस्तै गरी जनमत पार्टी लुम्बिनी प्रदेशका इन्चार्ज राजेन्द्र गुप्ताले ‘पश्चिम मधेश दर्पण’ ले स्पष्ट रुपमा लिखित दस्तावेजमार्फत मुलुकमा रहेको विभेदको उजागर गरेको बताउनु भएको छ । उहाले राम्रो ठाउँमा राम्रो व्यक्तिलाई पुर्याउन आग्रह गर्नु भएको छ ।

यस्तै गरी कान्दु वैश्य सेवा समिती सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष श्रीराम गुप्ताले विभिन्न ठाउँमा विभेद रहेको बताउनु भएको छ । ‘पश्चिम मधेश दर्पण’ पुस्तकका लेखक भोला बानियाले पुस्तकले सबल रुपमा साँस्कृतिक अनुसन्धानलाई निजी क्षेत्रबाट सोधखोज गर्ने काम गरेको उल्लेख गर्नु भयो । कार्यक्रममा डा. त्रिभुवन बरईले ‘पश्चिम मधेश दर्पण’ पुस्तकको समीक्षा तथा टिप्पणी गर्नु भएको थियो । कान्दु वैश्य सेवा समिति रुपन्देहीका कार्यसमिति सदस्य नरदेव प्रभाकरको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन परमशिला बनियाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-१०-२८ , समय : २३:०३:४१ , ७ महिना अगाडि