सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा युएनओका महासचिव बिच भेटवार्ता

रुपन्देही खबर , २३४  पटक हेरिएको

भैरहवा, कार्तिक १५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खानले संयुक्त राष्ट्र संघका (युएनओ) महासचिव एन्टोनियो गुटेरेसलाई नगरमा स्वागत गर्नु भएको छ ।

शान्तिका अग्रदुत बुद्धजन्मस्थल लुम्बिनी भ्रमणमा आएका गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरे पश्चात मेयर खान लगायतले उहालाई स्वागत गर्नु भएको हो ।

सोही क्रममा नगर प्रमुख खानले नगर क्षेत्रमा विकासको विषयमा महासचिव गुटेरेससगँ संक्षिप्त कुराकानी गर्दै योजना संचालनका लागि अनुरोध पत्र दिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

प्रमुख खानले नगरको बेलहिया सीमानाकामा शान्तिका अग्रदुत गौतमबुद्धको सबैभन्दा अग्लो प्रतिमाको निर्माण र त्यसको सकारात्मक पाटो÷पर्यटन प्रवर्द्धनको विषयमा उल्लेखित अनुरोध पत्र महासचिव गुटेरेसलाई दिएको नगर प्रमुख स्वकीय सचिव बरकत बादशाह शेषले बताउनु भएको छ ।

‘विश्व शान्तिको मुहान लुम्बिनीमा जन्मिएका भगवान गौतमबुद्ध लक्षित योजना संचालनका लागि महासचिवलाई अनुरोध पत्र दिएका छौँ’ नगर प्रमुख खानले भन्नु भयो , ‘संयुक्त राष्ट्र संघको ध्यानार्कषण भए बुद्धका सन्देशहरुका साथै नगरमा विकासले थप फड्को मार्ने हाम्रो विश्वास छ ।’

उहाले भन्नू भयो ‘केही नगर्नुभन्दा थोरै भएपनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो, संघका महासचिव नगरमा अवतरण भएको बेला उहालाई स्वागतको साथमा नगरमा विकासको ईट्टा थप्नका लागि अनुरोध गरेको हुँ । संघको ध्यानार्कषण भयो भने त्यसको फाइदा हामी सबै नगरवासीको लागि नै हुने हो ।’

उहाले सीमामा सबैभन्दा अग्लो बुद्ध प्रतिमा निर्माणले मानवताको सेवामा शान्ति, करुण र भक्तिको विश्वव्यापी सन्देश दिनुका साथै लुम्बिनी प्रदेश र मुलुकको धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सबै पर्यटकीय स्थलहरुको प्रवर्द्धनमा मद्दत पुग्ने बताउनु भएको छ ।

नेपाल भारतको सीमा क्षेत्रको दुवै तर्फ ५०० मिटरसम्म मित्रताको प्रतीकात्मक बगैंँचा योजनाले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाको भनाई छ । 

प्रकाशित मिति: २०२३-११-०१ , समय : १०:०४:४४ , १२ महिना अगाडि