फोहोरमैला व्यवस्थापनको विषयमा अध्ययन गर्न सिद्धार्थनगरको टोली भारत भ्रमणमा

रुपन्देही खबर , १६०  पटक हेरिएको

भैरहवा,कार्तिक २३

सिद्धार्थनगर नगरपालिकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनको विषयमा अध्ययन/अवलोकनका लागि नगरपालिका कार्यालयको टोली भारत भ्रमणमा गएको छ ।

मंगलबार साँझ नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाअध्यक्ष, प्राविधिक सहितको टोली नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नविनतम अभ्यास, सिकाई र सिकाईको उपलब्धीका लागि भारतको चंडीगढ तर्फ प्रस्थान गरेका छन् । त्यहाँ रहेको अविस्कार केन्द्र, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने मेसिनरी साम्रगी, प्रयोगको अवस्था लगायत विषयमा अध्ययन/अवलोकनका लागि टोली भारत प्रस्थान गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

दशकौ देखि यहाँको फोहोरमैला दिर्घकालिन रुपमा उचित व्यवस्थापन हुन सकेको छैन । ‘नगरप्रमुख निर्वाचित भएदेखि नै नगरको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि गम्भिर हुनुहुन्छ’ नगर प्रमुखको स्वकीय सचिव इन्जिनियर बरकत बादशाह शेषले भन्नु भयो , ‘तर, नगरमा एकै स्थानमा बढी क्षेत्रफलमा सार्वजनिक जग्गा अभावका कारण ठुलो योजना संचालन गर्नमा समस्या परेको छ ।’

हालको भ्रमणमा थोरै क्षेत्रफलमा सानो मेसिन मार्फत उचित व्यवस्थापन हुन सक्ने देखिएमा प्रक्रिया अघि बढाइने सक्ने सम्भावना रहेको उहाको भनाई छ ।

उनले फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि विभिन्न निकायसगँ पटक पटक छलफल भएको र एशियाली विकास बैंक (एडिबी) समक्ष लगेको प्रस्तावमा एडिबी योजना संचालनका लागि तयार रहेपनि जग्गा अभावकै कारण योजना संचालन गर्न नसकिएको बताउनु भएको छ ।

केही समय अघि सिद्धार्थनगरले अन्य दुई पालिकासगँ पनि संयुक्त रुपमा फोहोरमैलाको दिर्घकालिन व्यवस्थापनका लागि छलफल गरेर प्रस्ताव अघि सारेपनि सार्वजनिक जग्गा प्रयाप्त भएको पालिका सम्झौता गर्नबाट पछि हटेको थियो । सोही पालिकाको जग्गामा योजना संचालन गर्ने गरी जग्गाको नापजाँच समेत गरी तयारी भएको थियो । तर, उक्त पालिका सम्झौताबाट पछि हट्दा योजना संचालन हुन सकेन ।

त्यसपछि पनि नगरपालिकाको कार्यालयले विभिन्न निकायसगँ छलफल जारी राखेको छ । सोही अनुरुप फोहोरमैलाको दिर्घकालिन उचित व्यवस्थापनका लागि कार्यालयको टोली भारत तर्फ लागेको छ ।

प्रकाशित मिति: २०२३-११-०९ , समय : ०८:४६:३५ , ४ महिना अगाडि