रुपन्देही खबर , ७७९ पटक हेरिएको
भैरहवा, पुस ३
गौतमबुद्ध बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै एक सातादेखि आन्दोलनरत पक्षसंग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार छलफल गरेको छ ।
रुपन्देहीका ३२ वटा व्यवसायिक र सामाजिक संघसंस्था आवद्ध सिद्धार्थ संजाल रुपन्देहीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित संचालनको माग गर्दै विमानस्थलको गेटमा एक सातादेखि धर्ना बसेर आन्दोलन गरिरहेको छ । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिटै नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गर्नु भएको छ ।
‘हामी छिटै भैरहवा–दिल्ली, भैरहवा–नोयडा उडान नियमित गर्दैछौं’–मन्त्री किंरातीको भनाई उद्धृत गर्दै विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भन्नु भयो –‘बिमानस्थल ह्याण्डलिङ गर्ने कम्पनीलाई एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा छौ ।’
छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले विकेन्द्रीकरणको निति नलिंदा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालन हुन नसकेको बताउनु भएको छ । ‘संघले अझै पनि केन्द्रीकृत मानसिकताले काम गर्दा गौतमबुद्ध बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित संचालन हुन नसकेको हो’–मुख्यमन्त्री चौधरीले भन्नु भयो ।
छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थल संचालनका चुनौति र अवसरका बिषयमा धारणा राख्नु भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले भैरहवा बिमानस्थल बाट उड्ने प्यासेन्जर शुल्क घटाएर र त्रिभुवन बिमानस्थलबाट उड्ने प्यासेन्जरको शुल्क बढाएर भैरहवाको बिमानस्थललाई नियमित गराउन प्रस्ताव राख्नु भएको थियो । कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले भैरहवाबाट नोयडा उडान संचालन गर्न आफु तयार रहेको बताउनु भएको छ ।
सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौंका केही व्यवसायीको निहीत स्वार्थ र दवावका कारण भैरहवा बिमानस्थल पूर्ण क्षममतामा संचालन हुन नसकेको बताउनु भएको छ । सिद्धार्थ संजालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकास श्रेष्ठ, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने,सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आवश्यक सरकारी कार्यालयहरु तत्काल स्थापना गर्न र विमानस्थलबारे नकारात्मक दुस्प्रचार रोक्न सरकारी निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रकाशित मिति: २०२३-१२-१९ , समय : ०९:२३:२५ , १० महिना अगाडि