रुपन्देही खबर , ३८१ पटक हेरिएको
भैरहवा, फागुन २४
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा एक बाणिज्य उपाध्यक्ष, एक सहकोषाध्यक्ष र १६ जना कार्यसमिति सदस्य चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ । संघको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नेतृत्व चयन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलका अनुसार शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान समयावधि तोकिएको थियो ।

गौडेलका अनुसार निर्धारित समयमा १ हजार ६ सय ७० मत खसेको छ । संघमा २ हजार १ सय १२ जना मतदाता छन् । ४४२ मतदाता भने अनुपस्थित भएका छन् । संघको बाणिज्य उपाध्यक्षमा हरिबहादुर थापा, यमकला न्यौपाने र दीपककुमार पौडेल प्रतिस्पर्धामा छन् । यस्तै, सह–कोषाध्यक्षमा संजयकुमार बेरिवाल र पल्लवी न्यौपाने चुनावी मैदानमा छन् । निर्वाचन समितिका अनुसार १ जना बाणिज्य महिला सदस्यमा सुनयना केसी गिरी र मीना पन्थीबीच प्रतिस्पर्धा छ ।
संघको १० जना वाणिज्य सदस्यका लागि १९ जना चुनावी मैदानमा छन् भने पाँचजना उद्योग सदस्यका लागि ९ जनाबीच प्रतिस्पर्धा भएको छ । संघको अध्यक्षसहित अधिकांश पदाधिकारी यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितका अनुसार अध्यक्षमा नेत्रप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दीलिपकुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल र उद्योग उपाध्यक्षमा गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार संघको कर्पोरेट सदस्यमा विकाशकुमार गोयनका र अप्रितकुमार अग्रवाल, वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा पौडेल पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अहिले मतगणना सुरु भैसकेको छ ।
publickura
प्रकाशित मिति: २०२५-०३-०८ , समय : २२:२४:५९ , १ वर्ष अगाडि