रुपन्देही खबर , १२१ पटक हेरिएको

लुम्बिनी, बैशाख १३
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनु भएको छ । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा आज लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिनु भएको छ ।
साथै उहाले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्व झन् बढ्दै गएको बताउनु भयो ।उहाका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको जानकारी दिनु भयो ।
चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
प्रकाशित मिति: २०२५-०४-२६ , समय : २२:१५:३६ , २ हप्ता अगाडि