सीमावर्ती क्षेत्रमा प्रहरीको चेकजाँच तीव्र, पाँच लाखभन्दा बढीको अवैध सामान बरामद

रुपन्देही खबर , ११  पटक हेरिएको

भैरहवा, असोज ७


रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली चोरी–पैठारी गरी ल्याइएका करिब ५ लाख ८ हजार ६ सय ३६ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा कुखुरा, खाद्यान्न, कपडा, कस्मेटिक तथा दुग्धजन्य सामग्रीसहित मोटरसाइकल र स्कुटर बरामद गरेको हो।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ कोटिहवा माइ मन्दिर नजिकबाट ८ हजार रुपैयाँ बराबरका १० वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ। यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावारी गाउँबाट ८६ हजार रुपैयाँ बराबरको लु २१ प ९०३४ नम्बरको मोटरसाइकलसहित २४ वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ।

सिद्धार्थनगर–१ डण्डापुलबाट ३६ हजार रुपैयाँ बराबरका १८ थान साडी, डिशहोमका एलेम्बी ११ थान र पनिर १० प्याकेट बरामद भएको प्रहरीले जनाएको छ। सोही वडाको बेलहिया बसपार्कबाट ५८ हजार ९ सय रुपैयाँ बराबरका विभिन्न किराना सामान बरामद गरिएको छ।

त्यसैगरी सिद्धार्थनगर–२ फूलपुरबाट ३६ हजार ६ सय रुपैयाँ बराबरका टेन्टका कपडा चार रोल, युरिया मल दुई बोरा, कोक ४२ पिस र स्प्राइट २७ पिस बरामद गरिएको छ। तिलोत्तमा नगरपालिका–१५ कोटिहवाबाट १३ हजार ६ सय रुपैयाँ बराबरको १०० किलो चिनी र १८ पोका पानीपुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

सिद्धार्थनगर–८ रईपथबाट १ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरका १२० पिस केटोकोनाजोल साबुन बरामद भएको छ। यस्तै, रोहिणी गाउँपालिका–२ मैन्हियाबाट १ लाख ३२ हजार ७ सय ३६ रुपैयाँ बराबरको लु १३ प ४७१७ नम्बरको स्कुटरसहित ६ पिस अमुल बटर र ३० प्याकेट अमुल पिज्जा चिज बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाएको जनाएको छ। प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी–पैठारी नियन्त्रणका लागि नियमित चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२३ , समय : १०:१०:१८ , ५२ मिनेटutes अगाडि