आज देशैभर कांग्रेसको पालिका अधिवेशन हुदै
रुपन्देही खबर ,
३६ पटक हेरिएको
नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुटबाहेक यसअघि देशभरका वडामा वडाअधिवेशन सम्पन्न भैसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ ।
रसुवामा बाढीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भैरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।
कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ । कांग्रेसले यही १६ देखि १९ गतेसम्म काठमाण्डौमा १५औँ महाधिवेशन गर्दैछ ।
प्रकाशित मिति: २०२६-०९-२३ , समय : ०९:४९:१५ , १ घन्टा अगाडि