ओमसतिया गाउपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पालिकामा शिक्षाको अवस्था खस्किदै गएकोले शिक्षामा लगानी गर्न स्थानियको आग्रह

रुपन्देही खबर , १७१  पटक हेरिएको

भैरहवा, बैशाख २५

पालिकामा शिक्षाको अवस्था खस्किदै गएको चिन्ता ब्यक्त गर्दै एक कार्यक्रमका बक्ताहरुले शिक्षामा लगानी गर्न आग्रह गरेका छन । उनीहरुले पालिका अन्तर्गत शिक्षामा लगानी वडा नम्बर ६ मा मात्र भएकोले हरेक वडामा रहेका बिद्यालयको बिकासका लागी शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन । रुपन्देहीको ओमसतिया गाउपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले मुख्य किसानहरु बढी मर्कामा रहेकोले मलखादको ब्यवस्थापन संगै किसानका लागी अनुदानहरु ल्याउन माग गरेका छन । उनीहरुले हरेक वडामा रहेको भेटेनरीमा पशुहरुको लागी आवश्यक पर्ने औषधीहरु समेत पर्याप्त नहुदा यसको ब्यवस्थापन गर्न पालिकासंग आग्रह गरेका छन । कृषि संगै यहाको बाटोघाटो निर्माण लगायत मुख्य हाटबजारको रुपमा रहेको ठुटीपिपलको हाट बजार निरीक्षण गरी सरसफाइ लगायत हरेक कुराको ब्यवस्थापन गर्न माग गरेका छन । उनीहरुले ओमसतिया गाउपालिकामा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी सार्वजनिक जग्गाको माटो अबैध तरिकाले उत्खनन भैरहदा समेत गाउपालिकाले कुनै कदम नचालेको बताउदै यस्ता क्रियाकलाप रोक्न समेत माग गरेका छन ।

यस्तैगरी गाउपालिका अध्यक्ष मन्जित कुमार यादव सोनु ले सार्वजनिक सुनुवाई कार्यक्रममा अपेक्षा गरे भन्दा न्युन उपस्थिती भएकोमा दुख ब्यक्त गर्नु भएको छ । उहाले स्थानिय पालिकाको बिकासमा जनताको सुझाव उत्तिकै भएकोले जनताको सुझावलाई मनन गरी काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले ओमसतिया गाउपालिकामा शिक्षाको अवस्था एकदमै खस्केकाले शिक्षा क्षेत्रमा सुधाार ल्याउन शिक्षा क्षेत्रमा योजना बनाएर काम गर्ने प्रतिबद्धता गर्नु भएको छ । उज्यालो ओमसतिया बनाउनका लागी हरेक चोक चोकमा बत्तीको ब्यवस्थापन गर्ने र बिग्रेका बत्तीहरुको छिटटै नै मर्मत गर्ने गरी काम गर्ने बताउनु भयो । अध्यक्ष यादवले आगामी दिनमा हरेक वडा वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरी जनताको सुझाव संकलन गरी सोही अनुसार काम गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी गाउपालिका उपाध्यक्ष सुनिता चौधरीले सार्वजनिक सुनुवाई कार्यक्रममा आएका प्रश्नको जवाफ दिदै ओमसतिया गाउपालिकाले आदिवासी जनजातीलाई बिशेष प्राथमिकतामा राखी कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भएको छ । उहाले स्थानियको माग अनुसार नै सबैलाई समेटने गरी बिभिन्न किसिमका तालिमहरु समेत संचालन गर्दै यहाका महिला तथा किशोरीहरुलाई आत्मनिर्भर बनाउनमा पालिका लागी परेको उल्लेख गर्नु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जवाफ दिदै ओमसतियामा शैक्षिक क्षेत्र अस्तब्यस्त भएकोले पालिकामा रहेका कमी कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता गर्नु भएको छ । उहाले आगामी बर्ष कक्षा ८ को परीक्षा समेत सम्बन्धित बिद्यालयमा नहुने बताउनु भएको छ । उहाले सार्वजनिक जग्गा अतिक्रमण गरी माटो उत्खनन गर्ने कार्यमा संलग्नलाई अनुगमन गरी कारवाही गर्ने बताउनु भएको छ ।

ओमसतिया वडा नम्बर ५ का वडाध्यक्ष तथा पालिका प्रवक्ता मदन पोख्रेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बेल बहादुर मगर, २ का वडाध्यक्ष सितल जिटी, ३ का वडाध्यक्ष प्रकाश सिंह, ४ का वडाध्यक्ष अखिलेश्वर कुमार पाण्डेय, ६ का वडाध्यक्ष शिव कुमार धवल, कार्यपालिका सदस्य, गाउसभा सदस्य, पालिकाको बिभिन्न बिषयगत शाखा प्रमुखहरु, स्वास्थ्य शाखाका प्रमुखहरु, वडासचिवहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो । भन ेकार्यक्रम संचालन अमृता पाण्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-०५-०८ , समय : ११:१०:२९ , २ दिन अगाडि