अनधिकृत रुपमा निर्माण गरिएका घरटहरा हटाएर सडक निर्माणमा सहयोग गर्न आग्रह

रुपन्देही खबर , १८७  पटक हेरिएको

भैरहवा,जेठ ४

सडकमा अनधिकृत रुपमा निर्माण गरिएका घरटहरा हटाएर हटाएर सडक निर्माण कार्यमा सहयोग गर्न रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ का स्थानीयले माग राखेका छन् । शनिबार विज्ञप्ती जारी गर्दै उनीहरुले गाउँपालिकाले पाँच दिनभित्र सडकको क्षेत्राधिकारभित्र पर्ने घरटहरा हटाउन सूचना प्रकाशित गरिए पनि अहिलेसम्म नहटाइएकोले तत्काल गाउँपालिकाले हटाइ सडक निर्माण कार्यमा सहयोग गर्नुपर्ने माग राखेका हुन् ।

बाटो निर्माण कार्यमा सहयोग नगरेमा गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने र गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने सडक निर्माण सहजीकरण समिति मायादेवी–४ का संयोजक संजय कुमार मिश्रले बताउनु भएको छ ।

‘रुपन्देहीकोे मायादेवी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत लुम्बिनी सडकदेखि उत्तर गुण्डी हुँदै गैडहवा गाउँपालिका र सियारी गाउँपालिका जोड्ने सडक निर्माण कार्य सम्झौता भइ कार्यान्वयनको चरणमा रहेकोले सडक बाटोको क्षेत्राधिकारभित्र पर्ने सबै स्थायी तथा अस्थायी संरचना हटाएर सडक निर्माण कार्यमा सहजीकरण गर्ने गरी वडा नंं ४ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य एवं गाउँका भद्रभलादमीहरुको भेलाले बाटो निर्माण सहजीकरण समिति गठन गरी गाउँपालिकाबाट नापी नक्साको काम सम्पन्न भइसकेपछि गाउँपालिकाले मिति २०८२ वैशाख २८ गते सडकको क्षेत्राधिकारभित्र पर्ने स्थायी÷अस्थायी घरटहरा पाँच दिनभित्र हटाउने निर्णय समेत जारी गरेको हामी सबैलाई जानकारी नै छ, ’विज्ञप्तीमा भनिएको छ ।

अहिले आएर गाउँपालिका अध्यक्षले आफ्नो राजनीतिक दलका केही सदस्यहरुको सडक बाटोमा पर्ने घरटहरा हट्ने देखिएपछि सडक बाटो खाली गराउने निर्णयबाट पछि हट्न खोजेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति: २०२५-०५-१८ , समय : ०६:५०:३६ , १२ घन्टा अगाडि