रुपन्देहीको सिद्धार्थनगर ९ मा संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

उर्मिला यादव यात्री , २९४  पटक हेरिएको

भैरहवा, जेठ २५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ ले वडामा सुचीकृत रहेका आमा तथा महिला समुहहरुका लागी सात दिने बाद्यबादन सम्बन्धी तालिम सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता तथा नगर उपप्रमुख उमा अधिकारीको प्रमुख आथित्यतामा कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित एकहप्ते मादल बजाउने तालिम सञ्चालन गरिएको हो ।

तालिमको उदघाटन गर्नु हुदै नगर उपप्रमुख अधिकारीले महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको बताउनु भएको छ । उहाले मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले यसलाई भुलिसकेको बताउदै मौलिक कला,संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जोड दिनु भयो । उपप्रमुख अधिकारीले यसले कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन हुनुका साथै स्वरोजगारका अवसर सिर्जना हुने विश्वास ब्यक्त गर्नु भएको छ ।

बेरोजगार महिला गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकून् भन्ने मुख्य उद्देश्य रहेको बताउदै हरेक कार्यक्रम र सभा समारोहमा कलाकार बोलाउने र आधुनिक गीत बजाएर मनोरञ्जन गर्ने प्रचलन हाबी भएकाले मौलिक संस्कृतिको जगेर्नाका लागि तालिम दिएर महिलालाई यसतर्फ आकर्षित गर्न खोजिएको उपप्रमुख अधिकारीको भनाइ छ । सात दिनसम्म संचालन हुने तालिमबाट सीप सिकेपछि महिलाले जस्तोसुकै कार्यक्रममा पनि वाद्यवादकका रूपमा काम गर्नसक्ने अधिकारीले विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीले लोकसंस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको बताउनुभएको छ । स्थानीय बाजा संरक्षणमा पालिकाका लागि परेको बताउँदै अध्यक्ष भण्डारीले यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा भूमिका खेल्ने बताउनु भएको छ । उहाले गाउँघरमा हुने विवाह, व्रतवन्ध लगायत विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोकसंस्कृति संरक्षणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।

उदघाटन कार्यक्रममा सिद्धार्थनगर ९ का वडासचिव अब्दुल रसिद पठान, वडा सदस्यहरु बसुन्धरा शर्मा पोखरेल, युवराज बराल, सबिता हरिजन, बसन्त प्रसाद भटटराई लगायतले बोल्दै तालिम मादल बजाउन मात्र सीमित नहुने भन्दै यसले संस्कृतिको संरक्षण, प्रवद्र्धनसँगै वाद्यवादनको संरक्षण पनि हुने बताउदै तालिममा सिकेका ज्ञानलाई अभ्यासमार्फत दक्ष मादल वाधक बन्न सहभागीहरूलाई आग्रह गर्नु भएको थियो । जेठ १९ गते देखि २६ गते सम्म संचालन हुने तालिममा ३० जना भन्दा बढी आमा तथा महिला समुहहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०२५-०६-०८ , समय : १८:००:०२ , २ महिना अगाडि