पामिरले गर्याे एसइई उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान

रुपन्देही खबर , ७९  पटक हेरिएको

तिलोत्तमा, असार २४

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०८१ सालको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । एसइई परीक्षामा ३.९३ जिपिए ल्याउन सफल उषा अधिकारीलगायत २५ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक शिक्षिकाहरुलाई पामिरले सम्मान गरेको हो । विद्यालयले ए प्लस ल्याएका नौ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो भने अन्य विद्यार्थीहरुलाई अविर, खादा र मायाको चिनोद्वारा सम्मान गरेको थियो । त्यस्तै विद्यालयका नेपाली शिक्षक केशव खनालले आफ्नो विषयमा ए प्लस ल्याउने चारजना विद्यार्थीहरु उषा अधिकारी, इशान ज्ञवाली, इश्मा दर्लामी र आविष्कार नेपालीलाई जनही नगद ५ हजार सहित सम्मान गरेका थिए ।

कार्यक्रमकै अवसरमा विद्यालयका प्राचार्य गोपाल गौतम, शिक्षकहरु अमित राना, विनोद रणपाल, केशव खनाल, गोपाल ज्ञवाली, सम्झना श्रेष्ठ, अर्जुनप्रसाद पन्त लगायतलाई पनि सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई सम्मान गर्दै तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले सिंगो तिलोत्तमाले शिक्षा क्षेत्रमा महत्वपूर्ण फड्को मारिरहेको र २ नम्बर वडा शैक्षिक प्रगतिको केन्द्र बनिरहेको बताउनु भएको छ । उहाले पामिरले ल्याएको नतीजा तिलोत्तमाकै लागि महत्वपूर्ण उपलब्धि रहेको चर्चा गर्दै उत्तीर्ण सबै विद्यार्थीहरुको आगामी शैक्षिक सफलताको लागि शुभकामना दिनु भएको छ ।

त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै पामिरले यसवर्ष अहिलेसम्मकै उत्कृष्ट नतीजा हासिल गर्न सफल भएको बताउनु भएको छ । गतवर्षको एसइईमा तिलोत्तमामै प्रथम भएको पामिरले विद्यालयको इतिहासमा भने यसवर्ष अहिलेसम्मकै उत्कृष्ट नतीजा ल्याउन सफल भएको बताउनु भएको छ । पामिरले शिक्षण सिकाईसँगसँगै व्यावहारिक सिकाईलाई पनि जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताउनु भएको छ ।

विद्यालयका प्राचार्य गोपाल गौतमले जिपिए फोर मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिनु भएको छ । त्यस अवसरमा विद्यालयका शिक्षा समितिका संयोजक वसन्त जोशी, अभिभावकको तर्फबाट रामबहादुर खड्का, विद्यालयका शिक्षक केशव खनाल, ३.९३ जीपीए ल्याउन सफल विद्यार्थी उषा अधिकारी लगायतले पनि आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२५-०७-०८ , समय : ०८:२२:०२ , १६ घन्टा अगाडि