युसियमयस भैरहवामा आधारभुत शल्यक्रिया सीप कार्यशाला सम्पन्न

रुपन्देही खबर , ९८  पटक हेरिएको

भैरहवा, असार ३०

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा एकदिने आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न भएको छ । युसीएमएसको शल्यक्रिया विभागको आयोजनामा एक कार्यक्रमका बिच आइतबार कार्यशाला सम्पन्न भएको हो ।
जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको आधारभुत सीप र सिद्धान्तहरुमा दक्ष बनाउनु कार्यशालाको उद्धेश्य रहेको कार्यक्रमको कोर्स डाइरेक्टर तथा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाहले बताउनु भएको छ । उहाले यो कार्यशालाले एसप्टिक प्रविधि, उपकरण सम्हाल्ने तरिका, गाँठो कस्ने, टाँका लगाउने र टिस्यु ह्यान्डलिङ्ग जस्ता प्रत्यक्ष अभ्यासमा आधारित सीपहरु बारे थप जानकारी गराउनेछ भने अर्कोतिर कार्यशालाले आत्मविश्वास बढाउने, हातका सन्तुलन सुधार्ने र राम्रो शल्यक्रियात्मक बानी प्रबद्र्धन गर्न टेवा पुग्ने बताउनुभयो । सटिकता, सुरक्षा, व्यवसायिकता प्रति जोड दिदै सहभागिहरुलाई अप्रेशन थिएटरमा जिम्मेवारी लिन र शल्यक्रियासँग सम्बन्धित तालिम वा इन्टर्नसिपको तयारीमा समेत मद्वत पुग्ने बताउनु भएको थियो ।

यस्तै गरी लुम्बिनी मेडिकल कलेजका डा.शिव तिवारीले यस्ता कार्यक्रम आवासिय चिकित्सकका लागि धेरै नै लाभदायक रहेको, यसले सिद्धान्त र व्यवहार बीचको अन्तर हटाएर चिकित्सकको आत्मविश्वास र दक्षता अभिवृद्धि गर्ने बताउनुभएको थियो । यस्तै गरी देवदह मेडिकल कलेजका डा.चन्द्रेश कुमार सिंहले यो कार्यशाला आधारभुत कोर्स रहेको, यसले चिकित्सकको दिगो विकासमा मद्धत पुर्याएको बताउनु भएको छ । उहाले आगामी दिनमा अझ एडभान्स कार्यक्रम आयोजना गर्न जोड दिनुभयो ।

कार्यशालामा सहभागी यु.सि.यम.यस., शिक्षण अस्पतालका हाड तथा जोर्नी विभागका आवासिय चिकित्सक डा.आनन्द अधिकारीले कार्यक्रमले प्रारम्भिक चरण मै यस्ता सीपहरुले थिएटरमा जिम्मेवारी बहन गर्न, ‘मेडिकल त्रुटिहरु’ को सम्भावना घटाउन, पेशागत दृष्टिकोण र टिमवर्कलाई सुदृढ बनाउन टेवा पुग्ने बताउनुभएको छ ।

कार्यशालामा कोर्स संयोजकमा सह–प्रा.डा.सन्तोष मिश्रा, संकाय सदस्यको रुपमा डा.राज कुमार के.सी., डा.किशोरमान श्रेष्ठ, डा.निश्चल गौतम, डा.विकाश चन्द्र शाह, शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौबाट डा.रन्जन सापकोटा, डा.अभिषेक भट्टराई रहनु भएको थियो भने कार्यशालामा यु.सि.यम.यस., शिक्षण अस्पतालको शल्यक्रिया, हाडजोर्नी, महिला तथा प्रसुति, इमर्जेन्सी जनरल प्राक्टिस, नाक, कान तथा घाटी, ओरल म्याक्जोफेसियल सर्जरी विभागहरुबाट गरी २१ जना, लुम्बिनी मेडिकल कलेजबाट ६ जना तथा देवदह मेडिकल कलेजबाट ७ जना गरि कुल ३४ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : ०९:५६:१४ , १ दिन अगाडि