सार्वजनिक स्थानमा फोहोर फाल्ने माथि  सिद्धार्थनगरको कडा निगरानी

रुपन्देही खबर , १७०  पटक हेरिएको

भैरहवा,साउन १२

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्तिहरूमाथि कडा निगरानी सुरु गरेको छ भने  अटेरी गर्नेलाई जरिवाना तिराउन थालेको छ । नगरपालिकाले फोहोर फाल्नेहरुको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र फोहोरमैला व्यवस्थापन ऐन अनुसार कारबाही गर्ने अभियानलाई तीव्रता दिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले टोल-टोलमा नियमित रूपमा फोहोर संकलन गर्न ट्याक्टर पठाउँदा पनि सडक किनार र सार्वजनिक स्थलमा फोहोर फाल्ने क्रम नरोकिएपछि यस्तो कदम चालेको नगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले बताउनु भएको छ । उहाका अनुसार  पछिल्लो दुई महिनामा जथाभावी फोहोर फाल्नेहरूलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (क) अनुसार, नगरपालिकाले कसुरको प्रकृति हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार राख्दछ । अभियान अन्तर्गत हालसम्म १८ जनाले सडकमा फालेको फोहोरको भिडियो खिचिएको छ र उक्त फोहोर संकलन गरी उनीहरूलाई नै फिर्ता पठाइएको नगरपालिकाले जनाएको छ । सडकमा फोहोर फाल्नबाट रोक्नका लागि नगर प्रहरीलाई समेत परिचालन गरिएको छ ।

नगरपालिकाले सरसफाइमा मात्र नभई नगरलाई सुन्दर र हराभरा बनाउने अभियानमा समेत बाधा पुर्याउनेमाथि निगरानी बढाएको छ । सडक क्षेत्रमा लगाइएका बिरुवाका फूल टिप्ने र हाँगा भाँच्ने जस्ता गतिविधिमाथि पनि पालिकाले कारबाही अघि बढाएको छ ।

“सिद्धार्थनगरलाई सफा, सुन्दर, हराभरा बनाउन नगरपालिका लागेका नगर प्रमुख खा को भनाइ छ । उहाले केही नगरवासीले सडकमा फोहोर फाल्ने, फूल टिप्ने, रुखका हाँगा नै भाँच्ने जस्ता काम गरिरहनुभएकोले अब त्यस्तो गर्नेलाई  कार्वाही गर्ने बताउनु भयो ।  “नगरको सुन्दरताका लागि लगाइएका बिरुवाहरू जोगाउनु र फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्नु सबै नगरवासीको कर्तव्य भएको बताउदै उहाले  नगरपालिकाको एकल प्रयासले मात्र नगर सफा नहुने भन्दै यसमा सम्पूर्ण नगरवासीको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ ।

नगरपालिकाले नगरलाई हरियाली र वातावरणमैत्री बनाउन प्रत्येक वर्ष विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू अनुदानमा वितरण गर्दै आएको छ । यसअघि पनि रातिको समयमा सडकमा रोपिएका फूल-बिरुवा उखेलेर फालिने जस्ता समस्याहरू देखिँदै आएका थिए ।

प्रकाशित मिति: २०२५-०७-२९ , समय : १८:३९:०० , २ दिन अगाडि